तल्लो सेतीको प्रारम्भिक सर्भे सकियो

    1269

    तनहुँ जलविद्युत् आयोजनाको क्यास्केडमा निर्माण हुन लागेको तल्लो सेती जलविद्युत् आयोजनाको प्रारम्भिक सर्भेको काम सकिएको छ । प्रारम्भिक सर्भे सकिएसँगै तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने पनि पक्का भएको छ ।

    अब तत्काल सर्भेको काम थालनी हुने र आयोजनाको अध्ययन तथा डिजाइनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताबाट प्रस्ताव आह्वान गरिएको आयोजनाले जनाएको छ । तनहुँ जलविद्युत् आयोजनाभन्दा २० किलोमिटर तल निर्माण हुने उक्त आयोजनाको डिटेल सर्भे, भौतिक अध्ययन र डिजाइन पनि छिट्टै गरिने तनहुँ हाइड्रोपावर लिमिटेडका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

    ‘तनहुँ हाइड्रो पावरको क्यास्केडमै तल्लो सेतीको प्रारम्भिक सर्भे भएको छ,’ उनले भने, ‘विस्तृत अध्ययन, सर्भे र डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले वैशाखभित्रै सुरु गर्नेछ ।’ तनहुँवासीलाई आयोजना निर्माणले विद्युत् प्रवाहमा सहज हुनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुने बताइएको छ ।

    ‘तनहुँ हाइड्रोमा प्रयोग भएर बढी भएको पानी तल्लो सेतीमा उपयोग गर्न आयोजना निर्माण आवश्यक छ,’ साइट इन्चार्ज अधिकारीले भने, ‘तनहुँ हाइड्रोभन्दा यसबाट केही बढी लाभ लिन सकिन्छ भनेर तल्लो सेती बनाउँदै छौँ ।’ आयोजनाका लागि ३ स्थान छानिएको र त्यसमध्ये कम जग्गा क्षति हुने स्थानमा आयोजना बनाइने उनले बताए ।

    १ सय ५ मेगावाट क्षमताको आयोजनामा एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानी गर्ने इच्छा देखाएको छ । अर्धजलाशययुक्त उक्त आयोजनाको लागत करिब २२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

    स्रोत:नयाँपत्रीका