कुलेखानी तेस्रोको विद्युत् माघबाट उत्पादन

    1087

    आश्विन १८, २०७४-मकवानपुरको भैंसेस्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत् माघको पहिलो साताबाट उत्पादन हुने भएको छ ।

    माघ ४ गतेसम्म विद्युत् उत्पादन गर्ने योजनासाथ आयोजनाले निर्माणको काम सूक्ष्म किसिमले अध्ययन गरेर समयावधि तोकेको हो । पाँचौं पटक ठेकेदारको म्याद थप्दा साउन महिनामा काम सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । विद्युत्गृह निर्माणको ठेक्का पाएको ‘जेजियाङ जिल्लुन’ चिनियाँ कम्पनीको ढिलासुस्तीले साउन महिनामा विद्युत् उत्पादन हुन सकेन । ६ महिनाभित्र उत्पादन गर्ने योजनासाथ सिभिल वर्कको काम पाएको कम्पनी सिनो हाइड्रोको ६ महिना म्याद थप गर्न आयोजना प्रमुख सुभाषकुमार मिश्रले प्राधिकरणसँग अनुरोध गरेका छन् ।

    प्राधिकरण सञ्चालक समिति बैठक नबसेकाले म्याद थपको निर्णय हुन सकेको छैन । ‘सिभिल वर्कको ठेक्का लिएको सिनो हाइड्रोको मात्र म्याद थप गर्न मिल्छ,’ आयोजना प्रमुख मिश्रले भने, ‘इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको कम्पनीको म्याद थप्न मिल्दैन ।’ इलेक्ट्रोमेकानिकलको ठेक्का चीनको जेजियाङ कम्पनीले लिएको छ ।

    चीनबाट अधिकांश सामान आइसकेका छन् । कम्पनीले विद्युत्गृहमा स्वीचयार्डको निर्माण गरिरहेको छ । जेनेरेटर र टाइन जडान कार्य पनि भइरहेको छ । विद्युत् प्रसारण लाइनका तीनवटा टावर निर्माण गर्नुपर्नेमा २ वटा अन्तिम चरणमा पुगेका छन् । सिभिल वर्कको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत्गृहभित्रको पहुँच मार्ग र टेलेरेसको निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

    आयोजना प्रमुख मिश्रका अनुसार इलेक्ट्रिमेकानिकलको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । सिभिल वर्कको काम साढे ९८ प्रतिशत सम्पन्न भइसकेको छ । इलेक्ट्रोमेकानिकलको ढिलासुस्तीले सिभिल वर्कको काम प्रभावित हुन गएको हो । विद्युत् प्राधिकरणसँग सिनो हाइड्रो कम्पनीले थप रकम माग गरेको छ ।

    कम्पनीका कारणले ढिलासुस्ती नभएकाले प्राधिकरणले क्षतिपूर्तिस्वरूप रकम उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ । स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो आयोजनाको निर्माण कार्य करिब ८५ प्रतिशत सकिएको छ । निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ । ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । २०६४ चैतदेखि काम सुरु गरिएको आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।

    पटक/पटकको म्याद थपसँगै लागत पनि झन्डै २ अर्ब बढ्ने अनुमान गरिएको छ । निर्माण लागत २ अर्ब ४३ करोड अर्थात प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले बढेर ४ अर्ब ६३ करोड अर्थात प्रतिमेगावाट ३१ करोड रुपैयाँ पुगेको छ । ४४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना ८८ महिना वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो ।

    तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएकाले आयोजनाको लागत बढेको छ । वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको छ ।

    स्रोत:कान्तिपुर