आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न उज्यालो नेपाल अभियान

    1559

    काठमाडौँ, १० चैत । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपालको अभियान नयाँ नेपाल बनाउने महाअभियानको सुरुआत भएको बताउनुभएको छ ।

    अखिल(क्रान्तिकारी)ले यहाँ आज आयोजना गरेको ‘स्ववियुका विजेता सम्मान कार्यक्रम तथा स्थानीय तहको निर्वाचन प्रचार अभियान’ विषयक कार्यक्रममा उहाँले उज्यालो नेपाल अभियानले नेपाली जनतामा नयाँ आशाको सञ्चार गरेको बताउनुभयो ।

    मन्त्री शर्माले उज्यालो नेपाल अभियान केवल विद्युत्भार कटौती गर्ने मात्र नभई समृद्ध अर्थतन्त्रको विकास गर्ने योजनासमेत भएकाले यसमा दत्तचित्त भएर काम गर्न युवा विद्यार्थीलाई आग्रह गर्नुभयो ।

    सरकारले ठूलो लक्ष्यका साथ विद्युत्भार कटौती अन्त्य गरेको बताउँदै उहाँले भन्नुभयो – “युवा विद्यार्थी तथा त्यसमा पनि प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीको साथ रहने हो भने एकाध वर्षमा नेपालाई आर्थिक समृद्धिको दिशामा अगाडि लैजान सकिन्छ ।”

    मन्त्री शर्माले विद्युत् भार कटौतीको अन्त्यसँगै मुलुकमा केही हुन्छ र केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको उल्लेख गर्दै जनताको साथ र सहयोगबाट सरकार सफल भएपनि यसका लागि अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो ।

    संविधानले स्थानीय तहलाई इतिहासमै धेरै अधिकार प्रदान गरेको छ, उहाँले भन्नुभयो – “स्थानीय जनतालाई अधिकार दिने विषय माओवादी जनयुद्धको देन रहेको छ ।”

    मन्त्री शर्माले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनको कार्यभार मात्रै पूरा गर्ने नभई स्थानीय तहमा विकास निर्माण तथा भौतिक पूर्वाधारका क्षेत्रमा समेत उल्लेख्य प्रगति हुने धारणा व्यक्त गर्नुभयो ।

    स्थानीय तहको निर्वाचनलाई सफल बनाउन सरकार दत्तचित्त भएर लागेको बताउँदै उहाँले यसमा सरोकार भएका राजनीतिक दल तथा नागरिकले समेत सहयोग गर्नुपर्दछ भन्नुभयो ।

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य सूर्य सुवेदीले परिवर्तनको एजेण्डा संस्थागत गर्न पनि स्थानीय तहको निर्वाचनमा माओवादी विजयी हुनु आवश्यक रहेको बताउँदै युवा विद्यार्थीको भावनालाई नै आत्मसात् गरी पार्टीले स्थानीय तहको निर्वाचनमा युवालाई नै पहिलो स्थानमा राख्ने विचार व्यक्त गर्नुभयो ।

    अखिल(क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङ, मदन अर्याल, अनिल शर्मा, आरसी अधिकारी, महासचिव वीरेन्द्र बस्नेत लगायतले स्ववियुमा क्रान्तिकारीले महत्वपूर्ण विजय हासिल गरेको र त्यसले स्थानीय तहको निर्वाचनमा समेत सहज रुपमा सम्पन्न गर्न सकिने धारणा राख्नुभयो । रासस