HIDCL to invest in six hydropower project

    1793

    जलविद्युत् कम्पनीले ६ ओटा जलविद्युत् आयोजनामा लगानी गर्दै

    HIDCL2भदौ २०, काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनीले विभिन्न ६ ओटा जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।

    मुलुकभित्र निर्माण शुरु भएका तथा लगानीको अभावमा रोकिने अवस्थामा पुगेका आयोजनालाई समयमै निर्माण सम्पन्न गर्ने ध्येयका साथ कम्पनीले लगानी गर्ने तयारी गरेको हो ।

    कम्पनीले ८२ मेगावाटको तल्लो सोलु, ३० मेगावाटको न्यादी, २५ मेगावाटको काबेली बी, २१ मेगावाटको हेवा, १८ मेगावाटको माथिल्लो सोलु र २० मेगावाटको वाग्मती जलविद्युत् आयोजनामा रू. दुई अर्ब १० करोड लगानी गर्ने तयारी गरेको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार ती जलविद्युत् आयोजनामा प्रवद्र्धकको लागत र निर्माणको सम्भाव्यतालाई हेरेर लगानी गर्ने तयारी गरिएको जानकारी दिए ।

    कम्पनीले यसअघि दोलखामा रहेको खानीखोला (३० मेगावाट) र सोलुमा पर्ने सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट) मा सहवित्तीयकरणअन्तर्गत रू. ६० करोड लगानी गरेको छ । दुई आयोजनाको जडित क्षमता ५३.५ मेगावाट छ ।

    मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्नका लागि तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विष्टको पहलमा कम्पनी स्थापना गरिएको थियो ।

    कम्पनीमा सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोष, बीमा कोष र नागरिक लगानी कोषको क्रमशः १०÷१० प्रतिशत सेयर रहेको छ । यस्तै कम्पनीको बाँकी रहेको २० प्रतिशत सेयर नागरिकका लागि साधरण सेयरमार्फत वितरण गर्ने तयारी गरिएको छ ।

    कम्पनीका कार्यकारी अधिकृत रौनियारकाअनुसार दसैँ तिहारलगत्तै सर्वसाधारणका लागि सो सेयर जारी गरिनेछ । सेयरका लागि नेपाल स्टक एक्सेचेन्जमा आवश्यक प्रक्रिया शुरु गरिएको छ ।

    यस्तै कम्पनीलाई आर्थिक रुपमा सबल बनाउनका लागि एसियाली विकास बैङ्कको ‘एडिएस फण्ड’ बाट सहुलियत दरमा पाँच करोड डलर ऋण लिने विषयमा समेत कुराकानी शुरु भएको छ ।

    एक प्रतिशतभन्दा न्यून ब्याज दरमा ऋण लिएर, आन्तरिक लागतसमेत उठाएर ३ सय मेगावाट भन्दा ठूलो जलविद्युत् आयोजना निर्माण शुरु गर्ने कम्पनीले तयारी गरेको छ ।

    यस्तै विदेशमा कार्यरत नेपालीलाई सहभागी गराएर कम्पनीले ‘विपे्रषण हाइड्रो’ को अवधारणा पनि अगाडि सारेको छ । वैदेशिक रोजगारीमा गएका नागरिकलाई पेन्सन तथा सेयर प्रदान गर्ने गरी अगाडि बढाइएको विपे्रषण हाइड्रोमा पहिलो चरणमा खाडी मुलुकमा काम गरिरहेका करीब २० हजार नेपालीलाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

    ऊर्जा, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग विपे्रषण हाइड्रोको विषयमा पटक–पटक छलफल भइसकेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत रौनियारले एकाध महीनाभित्रै विदेशमा कार्यरत नेपालीलाई लगानीका लागि सार्वजनिक आह्वान गरिने बताए ।

    ‘मुलुकमै पहिलो पटक विप्रेषणलाई भौतिक विकासमा लगाउन खोजिएको छ, यसमा सबैको साथ र सहयोगको आवश्यकता रहन्छ, हामीलाई आशा छ, सो योजनाले सोचेभन्दा बढी सफलता पाउनेछ,’ कार्यकारी अधिकृत रौनियारले भने ।

    रासस