फुकोट कर्णालीमा जलविद्युत् कम्पनीको पहिलो स्वपुँजी

    1249

    जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले ४२६ मेगावाटको फूकोट कर्णाली जलविद्युत् आयोजनामा स्वँपुजी (इक्विटी)  गर्ने निर्णय गरेको छ । ६ वर्षअघि स्थापना भएको कम्पनीले हालसम्म जलविद्युत् आयोजनाहरुमा ऋण लगानीमात्र गर्दै आएको छ ।

    फूकोट कर्णालीमा भने कम्पनीले १० प्रतिशत स्वपुँजी लगानी गर्न लागेको हो । सोमबार बसेको बैठकले उत्पादक कम्पनीको अनुरोधमा लगानीको निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत छविलाल पोखरेलले जानकारी दिए । “कम्पनीले १० प्रतिशत अर्थात् १ अर्ब २६ करोड रुपैयाँ बराबर लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले पाँच वर्षे व्यावसायिक योजना सार्वजनिक गरेपछिको यो पहिलो लगानी पनि हो,” उनले भने ।

    निजामति कर्मचारीसहित नेपाली सेना, प्रहरी, शिक्षकलगायतको सेयर लगानीमा निर्माण हुन लागेको आयोजना २० प्रतिशत इक्विटी र ८० प्रतिशत लोनमा निर्माण हुन लागेको छ । कालीकोटमा निर्माण हुन लागेको आयोजनालाई ऊर्जा मन्त्रालयले गत साउनमा अध्ययन अनुमतिपत्र दिएको थियो ।

    अहिलेसम्म ५ सय ४१ मेगावाटका १४ आयोजनामा ६ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरिसकेको आयोजनाले पाँच वर्षभित्र १५ अर्बबराबर लगानी गर्ने लक्ष्य राखेको छ । विदेशी पुँजी भित्र्याएर तथा स्वदेशकै पुँजी जम्मा गरेर कम्पनीले सरकारी तथा निजी क्षेत्रका आयोजनाहरूमा इक्विटी र लोन दुवै लगानी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

    सोमबार भएको कम्पनीको बोर्ड बैठकले सेयर लगानीकर्ताहरूलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ । कम्पनीका अनुसार ५० करोड बराबरको लाभांश वितरण गर्न लागिएको हो ।

    स्रोत:कारोबार