जर्मनीले ऊर्जा विकासमा सहयोग थप्ने

    1369

    काठमाडौं- जर्मनीले नेपालको ऊर्जा विकासमा थप १ करोड ५० लाख युरो (करिब १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ) आर्थिक सहायता दिने भएको छ । काठमाडौंस्थित जर्मन दूतावासले सोमबार विज्ञप्ति जारी गरी नेपाललाई थप आर्थिक अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

    ‘नेपाललाई थप १ करोड ५० लाख युरो विकास सहायता उपलब्ध गराउन जर्मन सरकार सहमत भएको छ । यो रकम ४३ किलोमिटर लामो दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइन निर्माणमा खर्च हुने छ,’ जर्मन दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सन् २०१६ को नोभेम्बरमा जर्मन सरकारले विद्युत् प्रसारण लाइन परियोजनाका लागि १ करोड ६० लाख युरो (करिब १ अर्ब ९३ करोड ६० लाख रुपैयाँ) उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । जर्मनीले यो सहयोग ऊर्जा क्षमता र नेपालका नवीकरणीय ऊर्जाको प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपलब्ध गरेको थियो । सोमबार घोषणा गरिएको डेढ करोड युरो थप सहयोग हो ।

    दमौली–लेखनाथ २ सय २० केभी प्रसारण लाइन निर्माणका लागि जर्मन सरकारले हालसम्म ३ करोड १० लाख युरो (करिब ३ अर्ब ७५ करोड १० लाख रुपैयाँ) उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । दमौली–लेखनाथ विद्युत् प्रसारण लाइनले नेपालको राष्ट्रिय ग्रिडलाई थप बलियो बनाउने जर्मनीले जनाएको छ । सेती र मादी नदीबाट उत्पादन हुने विद्युत् यो प्रसारणलाइनले धेरै नेपालीको घरसम्म पु¥याउने विज्ञप्तिमा उल्लेख छ ।

    स्रोत:नागरिक