इन्भर्टर चार्ज गर्न नपरेपछि बिजुलीको माग ७० मेगावाटसम्म घट्यो

    932

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडाैं उपत्यकामा लोडसेडिङ हटाएपछि विद्युतको माग पनि कम हुँदै गएको छ । निरन्तर रुपमा बिजुली आपूर्ति भएपछि इन्भर्टर, व्याट्री, टर्च लाइटको चार्जमा कमी आएपछि माग घट्दै गएको हो । बुधबार राती विद्युतको माग घटेर १ हजार २८५ मेगावाटमा झरेको थियो । बिहीबार पनि १ हजार २५० मेगावाटको हाराहारीमा माग भएको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।  काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएपछि विद्युत खपत कम हुँदै गएको उनको भनाई छ । उपत्यकामा साँझ ३ सय मेगावाट भन्दा कम विद्युत माग रहेको उनले बताए ।  तिहारमा लक्ष्मीपूजाको दिन विद्युतको माग १ हजार ४४४ मेगावाट पुगेको थियो । तिहारपछि  १ हजार ३५० मेगावाट हाराहारीमा बिजुलीको माग भएकोमा पछिल्लो समयमा झण्डै ७० मेगावाट माग कम भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपत्यका बाहिर दैनिक २ घण्टाको हाराहारीमा मात्र लोडसेडिङ गरिरहेको छ । प्रणालीमा अझै ४३५ मेगावाट अपुग हुँदा पनि विद्युत प्राधिकरणले उपत्यकालाई लोडसेडिङमुक्त  र बाहिर २ घण्टा मात्र गरिरहेको छ ।  विद्युत प्राधिकरणका अनुसार विद्युत प्राधिकरणका आयोजनाहरुबाट ३६९, निजी ऊर्जा उत्पादकबाट २४० र भारतबाट औसत २४० मेगावाट गरी कुल साढे ७ सय मेगावाट आपूर्ति भइरहेको छ । प्राधिकरणले एक मात्र जलासययुक्त आयोजना कुलेखानीमा प्रणालीलाई सन्तुलनमा ल्याउन दैनिक १ घण्टा मात्र चलाएको छ । नदीमा जलस्तर कम हँुदै गएर उत्पादनमा गिरावट आउने भएपछि यसलाई सम्बोधन गर्न विद्युत प्राधिकरणले भारतबाट थप बिजुली आयातको तयारी गरिरहेको छ । यसका लागि आवश्यक पुर्वाधार तयारीको काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिले लोडसेडिङ व्यवस्थापनमा ध्यान दिइरहेको अधिकारीको भनाई छ ।

    Source: Baahrakhari