अपर तामाकोशीको शेयरको चमक दोस्रो साता खोसियो, पूँजीकरणमा ‘टप टेन’ बाट बाहिरियो

2503

आइतबार, १३ माघ २०७५

काठमाडौं। कारोबार सुरु भएको पहिलो साता नै बजार पूँजीकरणको हिसावले टप १० मा पुगेको अपर तामाकोशीको शेयरले दोस्रो साता उचाइ कायम गर्न सकेन।

पहिलो साताको पाँचै दिन बढ्ने क्रममा सर्किट लागेको तामाकोशीको शेयर दोस्रो सातामा भने एक कारोबार दिन मात्रै बढ्यो। चार कारोबार दिन कम्पनीको मूल्यमा गिरावट आउँदा पूँजीकरणका हिसाबले १० नम्बरभित्र पर्न नसकेको हो।

तामाकोशीको पहिलो कारोबार २२४ रुपैयाँमा सुरु भएको एक हप्तामा ३११ रुपैयाँ पुगेको थियो। यस साता भने दुई दिन मात्रै हरियो देखिएको अपरको बजार मूल्य ३७ रुपैयाँले घटेको छ।

साताभरीमा नेप्से सूचक १४.९९ अंकले गिरावट आएको छ। कारोबार रकम १२ प्रतिशतले घट्दा एक अर्ब ६२ रुपैयाँको मात्रै भएको छ। सबैभन्दा धेरै कारोबार भएको अपर तामाकोशीको हिस्सा मात्रै २९ प्रतिशत रहेको छ। तामाकोशीको मात्रै ४८ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।

तामाकोशीको शेयर गत साता बजार पूँजीकरण नै २.५२ प्रतिशतले बढेकोमा यस साता तामाकोशीको मूल्यमा गिरावट आउँदा बजार पूँजीकरण १.२३ प्रतिशतले घटेको छ। बिहीबार कुल बजार पूँजीकरण १४ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ। सबैभन्दा धैरै पूँजीकरण नेपाल टेलिकमको एक खर्ब ९ अर्ब रुपैयाँ रहेको छ।

यस साता सबैभन्दा धेरै तामाकोशीको २८ हजार ८७७ वटा कारोबार भएको छ। अधिकांस लगानीकर्ताले प्राथमिक शेयर बिक्री गरेका छन्। प्राथमिक शेयर बिक्री गर्दा कम्पनीको कारोबार संख्या बढेको हो।

 

Source: The Bizmandu