पर्वतमा २ वर्षभित्र ७१ मेगावाट विद्युत् उत्पादन हुँदै

    1638

    चैत १६, पर्वत । ऊर्जा खोलाको रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदै छ । जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचओटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । आगामी डेढदेखि २ वर्षभित्र सक्नेगरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला पाँच आयोजनाले यो क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् । पर्वतमा हाल कुल २५ दशमलव ५ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् ।

    जिल्लाका थोरै पानीमा धेरै उत्पादन हुने सम्भाव्यता बोकेका मोदीखोलालगायत नदीनालामा लगानी गर्न व्यवसायी आकर्षित भएका छन् । मनाङ ट्रेड लिङ्क र साउथ एशियन इन्फ्राष्ट्रक्चरले जिल्लाको परादीमा निर्माण गरिरहेको आयोजना सम्पन्न गरेपछि २० मेगावाट विद्युत् उत्पादन हुनेछ । । ३ अर्ब ६० करोड रुपैयाँको अनुमान गरिएको आयोजनाको अहिले ८५ प्रतिशत काम पूरा भइसकेको र चालू आर्थिक वर्षभित्रै उत्पादन दिने लक्ष्य राखिएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । आयोजनाको हालसम्म बाँध, टनेल, पावरहाउस र इनटेकलगायतको काम पूरा भइसकेको छ । ४२ सय मिटर सुरुङ मार्ग खनी निर्माण भइरहेको यो आयोजना जिल्लामा हालसम्मकै ठूलो मानिन्छ ।

    मोदी खोलामै १५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत्  आयोजना निर्माणाधीन छ । जिल्लाको मोदी गाउँपालिकास्थित भुकदेउराली र देउपुरमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरले निर्माण गर्ने तल्लो मोदीखोला २ जलविद्युत् आयोजनाबाट १० दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ ।

    हाल मोदीखोला जलविद्युत् आयोजनाले १४ दशमलव ८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ भने तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाले १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ । उता, पातीखोलामा रहेको पातीखोला जलविद्युत् आयोजनाले १ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

    स्रोत:अभियान