विद्युत् उत्पादनमा चिसोको प्रभाव : एकतिहाइमा खुम्चियो आन्तरिक विद्युत् उत्पादन

२०७५ माघ १३ आइतबार

नेपालको आन्तरिक विद्युत् उत्पादन करिब एकतिहाइमा खुम्चिएको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभावले भइरहेको वर्षा, हिमपात र चिसोका कारण खोलानदीमा पानीको बहाब निकै कम भएको छ । घाम नलाग्दा खोला नदीका उद्गम मानिएका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिउँ जमेको छ । यसले गर्दा नदी प्रवाहमा आधारित आयोजनाहरूको उत्पादन करिब एकतिहाइमा खुम्चिन पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘खोला नदीमा पानीको बहाव घट्दा आन्तरिक विद्युत् उत्पादन झन्डै एकतिहाइमा खुम्चिएको छ,’ उनले भने, ‘तर, घाम लागेपछि तातो बढ्न थाल्छ र हिउँ पग्लिन थालेपछि पानीको बहाव बढ्नेछ । यसले केही सातापछि नै उत्पादन क्रमिक रूपमा बढ्दै जान्छ ।’

हाल प्राधिकरणको राष्ट्रिय प्रसारण सञ्जालमा कुल १ हजार ८० मेगावाट विद्युत्को जडित क्षमता पुगेको छ । यसमध्ये ५ सय ७ मेगावाट प्राधिकरणको, ५ सय २० मेगावाट निजी क्षेत्रको र ५३ मेगावाट थर्मल प्लान्टको जडित क्षमता छ । तर, प्राधिकरणले प्रकाशित गरेको शनिबारको तथ्यांकलाई आधार मान्ने हो भने प्राधिकरणले १ सय ७७ मेगावाट र निजी क्षेत्रको १ सय ७० मेगावाट गरी कुल ३ सय ४७ मेगावाट मात्रै आन्तरिक उत्पादन छ ।

कुल मागमध्ये बाँकी विद्युत् भारतबाट आयात गरेर आपूर्ति गरिरहेको छ । ‘उच्च मागको समयमा ५ सय ५० मेगावाटसम्म भारतबाट आयात भइरहेको छ,’ कार्यकारी निर्देशिक घिसिङले भने, ‘औसत आयात ४ सयदेखि ४ सय ५० मेगावाटको हाराहारीमा छ ।’ हाल धेरैजसो माग प्राधिकरणको ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना र १ सय ४४ मेगावाटको कालिगण्डकी अर्धजलाशययुक्त आयोजनाले धानेको प्राधिकरणले जनाएको छ ।

समग्रमा नदी प्रवाही आयोजनाको उत्पादनमा तापक्रमका कारण हिउँ जम्ने पग्लिने प्रक्रियाले असर गर्ने भए पनि नदीको प्रकृतिअनुसार प्रभाव पनि फरक हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ‘गत वर्षको तुलनामा उत्पादन धेरै घटेको छैन,’ उनले भने, ‘तर, त्यभन्दा अघिल्लो वर्षको तुलनामा भने केही बढी नै घटेको छ ।’

हिउँदमा हुने विद्युत् अभाव पूरा गर्न नदी प्रवाही आयोजनाको निर्माण बढाउनुपर्ने देखिएको छ । यो समस्या समाधानका लागि ऊर्जामन्त्री वर्षमान पुनले एक महिनाअघि मात्र प्राधिकरणको बोर्ड बैठकबाट जलाशययुक्त आयोजना विकासलाई प्राथकिता दिने निर्णय पारित गराएका थिए ।

उक्त नीतिअनुसार जलविद्युत् अयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) १५ हजार मेगावाट नपुग्दासम्म ५ हजार २ सय ५० मेगावाट जलाशययुक्त आयोजना र ४ हजार ५ सय मेगावाटबराबरका पिकिङ रन अफ रिभर (पिआरओआर) आयोजनाको पिपिए ‘टेक अर पे’ प्रावधानअन्तर्गत गरिने भएको छ । सोही निर्णय ५ हजार २ सय ५० मेगावाट नदी प्रवाही आयोजनाको पिपिएसमेत १५ हजारको सीमा पूरा नहुन्जेल ‘टेक अर पे’मै गरिनेछ । यो व्यवस्थाको कार्यान्वयन गरी जलविद्युत् आयोजनाको विकास भएपछि हिउँदमा हुने विद्युत् अभावको समस्या समाधान हुने विश्वास प्राधिकरणको छ ।

अर्कोतर्फ, अबको एक डेढ वर्षभित्रै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य जलविद्युत् आयोजनाले समेत व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने भएकाले वर्षामा जडित प्रणालीमा नेपाललई विद्युत् बढी हुने प्राधिकरणको आकलन छ । सो विद्युत् भारतमा बैंकिङ (वर्षामा भारतलाई प्रयोग गर्न दिने र हिउँदमा त्यही परिमाणको विद्युत् ल्याउने) गर्ने नीति प्राधिकरणको छ । यसका लागि आवश्यक नीतिगत, संस्थागत संरचना र अन्तरदेशीय प्रसारण लाइनको व्यवस्था गर्ने ९ र १० माघमा पोखरामा भएको दुवै देशको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेरिङ कमिटी)को बैठकले सहमतिसमेत गरिसकेको छ ।

 

पुष्प कोइराला

स्रोत: नयाँपत्रीका

Leave a comment