ऊर्जा उत्पादन र निर्यात : व्यापारघाटा कम गर्ने एकमात्र विकल्प

    1024

    काठमाडौं । नेपालको आर्थिक तथा औद्योगिक विकासका साथै व्यापारघाटा कम गर्न पर्याप्त विद्युत् उत्पादन नै एकमात्र विकल्प रहेकोमा विज्ञहरूले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा केपीएमीजी भारतको सहयोग एवम् सहभागितामा बिहीवार काठमाडौंमा आयोजित ‘तीव्र आर्थिक विकासका लागि दिगो ऊर्जा र पूर्वाधारमा लगानी’ विषयक कार्यक्रमका सहभागी विज्ञहरूले उक्त कुरामा जोड दिएका हुन् । भारतसँगको आयात निर्यातको अनुपात करीब १३ः१ रहेको कहालिलाग्दो अवस्थामा अन्य वस्तु उत्पादन गरेर यो अन्तर घटाउन नसक्ने विज्ञहरूको भनाइ थियो ।

    नेपालको तुलनात्मक लाभको क्षेत्रका रूपमा समेत परिभाषित ऊर्जाक्षेत्रको विकासमा राष्ट्रको सम्पूर्ण ध्यान जानुपर्ने सुझाव पनि कार्यक्रममा दिइयो । करीब ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने पछिल्लो अध्ययनले देखाए पनि मात्र ८ सयको हाराहारीमा ऊर्जा उत्पादन हुनु हाम्रा लागि चिन्ताको विषय भएको भन्दै विज्ञहरूले ऊर्जा उत्पादनको हाम्रो सम्भाव्यताको अधिकतम दोहन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विश्व बैङ्क, नेपाल विद्युत् प्राधिकरण, केपीएमजी भारत, ऊर्जा उत्पादक तथा विज्ञहरू र सरोकारवाला क्षेत्रको सहभागिता थियो ।

    कार्यक्रममा महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विद्युत् ऊर्जा विकासमा अब ढिलो गर्न नहुनेमा जोड दिए । आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरू पारित हुँदै गएका, राजनीतिक अस्थिरता पनि विस्तारै हट्दै गएको र स्थानीय निर्वाचनसमेत भैसकेको पृष्ठभूमिमा अब नेपालमा लगानी गर्न अन्तरराष्ट्रिय लगानीकर्ता तथा दातृ निकायहरूलाई उनले आग्रह गरे । सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने नेपालको लक्ष्यलाई पूरा गर्न कम्तीमा ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिका लागि पनि पर्याप्त लगानी बढाउनुपर्ने आवश्यकता सो कार्यक्रममा औंल्याइयो । साथै, तुलनात्मक लाभका क्षेत्र भनी पहिचान गरिएका जलविद्युत्, पूर्वाधार विकास लगायतका परियोजनाहरूमा सन् २०२० सम्म १८ अर्ब अमेरिकी डलरसम्मको लगानी आवश्यकता पर्ने तथ्याङ्क सो अवसरमा प्रस्तुत गरियो ।

    महासङ्घका कोषाध्यक्ष एवम् जलस्रोतविद् ज्ञानेन्द्रलाल प्रधानले ‘नेपालमा लगानीको अवस्था : ऊर्जा र पूर्वाधार’ विषयक कार्यपत्र प्रस्तुत गर्दै राज्यले अगाडि बढाएका विद्युत्का राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्न सरकार चनाखो हुनुपर्नेमा जोड दिए । मुलुकको आर्थिक विकास विद्युत् विकासबाट मात्रै सम्भव भएको बताउँदै उनले विद्युत् ऊर्जा उत्पादनमा हाम्रो लगानी तथा प्राथमिकतालाई उच्च राख्नुपर्ने धारणा राखे । कार्यक्रममा विश्व बैङ्क, केपीएमजी भारत, विद्युत् प्राधिकरण, ऊर्जाविज्ञहरू र सरोकारवालाहरूले ऊर्जासम्बन्धी विश्वको परिदृश्य प्रस्तुत गर्दै नेपालको सम्भाव्यतालाई यथार्थमा रूपान्तरण गर्नुपर्ने बताए ।

    स्रोत:अभियान