खडेरीले विद्युत उत्पादन घट्यो

    1312
    लामो खडेरीले नदीनालामा पानी घट्दा यस क्षेत्रमा सञ्चालित ठूला विद्युत आयोजनाको उत्पादन घटेको छ। नदीमा पानी यही गतिमा कम भए उत्पादन घटेर लोडसेडिङ बढ्न सक्ने आयोजनाका अधिकारी बताउँछन्।
    तनहुँ, लमजुङ र स्याङ्जाका तीन ठूला आयोजनाको उत्पादन पोहोर यही बेलाको तुलनामा अहिले निक्कै घटेको छ । यस क्षेत्रको सबैभन्दा ठूलो एक सय ४४ मेगावाट क्षमताको स्याङ्जास्थित कालीगण्डकी ए आयोजनाले अहिले ५५ देखि ६० मेगावाटमात्र उत्पादन गरिरहेको छ । पोहोर यो बेला आयोजनाको उत्पादन ७५ देखि ८० मेगावाट थियो ।

    ‘रन–अफ दी रिभर’मा आधारित आयोजनाबाट पूर्ण रुपमा विद्युत उत्पादन गर्न पानी अभाव भएको कालीगण्डकी ए आयोजनाका केन्द्रप्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए । ‘पोहोरको तुलनामा यसपटक उही सिजनमा २० मेगावाटसम्म विद्युत उत्पादन घटेको छ,’ उनले भने, ‘नदीमा पानी नै कम छ । पानी घटेपछि उत्पादन कम हुनु स्वाभाविक हो ।’

    उनका अनुसार आयोजनाका तीनवटा मेसिन चलाएर पूर्ण रुपमा विद्युत उत्पादन गन एक सय ५० क्युबिक मिटर प्रतिसेकेन्ड पानी चाहिन्छ । तर, अहिले ६० क्युबिक मिटर प्रतिसेकेन्डमा झरेको छ । पोहोर यो बेला ८५ क्युबक मिटर प्रतिसेकेन्डसम्म पानीको बहाव थियो । ‘एउटा ठूलो आयोजनाबाट १५–२० मेगावाट उत्पादन घट्नु ठूलो कुरा हो । अझै पानी पर्न नसकेर बहाव घट्दै गयो भने उत्पादन निकै कम हुनेछ,’ उनले भने, ‘रन अफ दी रिभर भएकोले पानी स्टक रहन्न ।’

    उनका अनुसार पोहोर–परार वैशाख अन्तिम सातादेखि जेठ पहिलो सातासम्म नदीमा पानीको बहाव बढ्थ्यो । यसपटक पानी कम परेकोले बहाव बढ्ने सम्भावना कम रहेको उनले बताए । हिमाली भेगबाट सुरु भएको कालीगण्डकी नदीको मुहान क्षेत्रमा हिउँ पग्लेको खण्डमा र सिरान क्षेत्रमा भीषण वर्षा भएमात्र नदीमा बहाव बढ्ने उनले बताए । ‘यस्तै अवस्था रहिरहे अझै नदीको बहाव घट्छ किनभने अहिले सबैतिर चर्काे खडेरी छ । हिउँ पर्ने क्रम पनि पहिलेको तुलनामा कम छ,’ उनले भने ।

    यसै क्षेत्रको अर्काे ठूलो आयोजना लमजुङको मध्य मस्र्याङ्दीको पनि उत्पादन निकै घटेको छ । ७० मेगावाट क्षमताको आयोजनाले अहिले मुस्किलले ३०–३२ मेगावाट उत्पादन दिएको छ । पोहोर यो बेला मध्यमस्र्याङदीको उत्पादन ४५ मेगावाट हाराहारी थियो । आयोजनाका केन्द्रप्रमुख राजेश पाण्डेले पोहोरको तुलनामा यसपालि १५ मेगावाट हाराहारी उत्पादन घटेको जानकारी दिए । ‘पोहोरको यो बेलाको तुलनामा अहिले करिब १५ मेगावाट उत्पादन घटेको छ । नदीमा पानीको बहाव नबढेसम्म उत्पादन थपिने सम्भावना छैन,’ उनले भने, ‘केही वर्षअघि यही सिजनमा ५० मेगावाटसम्म उत्पादन हुन्थ्यो ।’

    मध्यमस्र्याङदी पनि रन अफ दी रिभरमा आयोजना हो । पूर्ण रुपमा आयोजना सञ्चालन हुँदा यसलाई ८० क्युबिक मिटर प्रतिसेकेन्ड पानी चाहिन्छ । अचेल ३० क्युबिक मिटर प्रतिसेकेन्डमा झरेको छ । हिमाली क्षेत्रबाट उत्पन्न नदी भएकोले हिउँ पग्लँदा नदीमा पानीको बहाव बढ्थ्यो । माथिल्लो क्षेत्रमा वर्षा हुँदा पनि नदीमा पानी थपिन्थ्यो । यसपालि लामो समयदेखि पानी परेको छैन । अकासे पानी कम पर्नु र हिमाली क्षेत्रमा हिउँ नहुँदा यो बेला नदीमा पानी निकै कम भएको उनले बताए ।

    तनहुँमा सञ्चालित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत आयोजनाको उत्पादन पनि अहिले निकै कम छ । यसले ३५ मेगावाट उत्पादन गरिरहेको छ । पोहोर यो बेला उक्त आयोजनाले ४५ मेगावाट हाराहारी बिजुली उत्पादन गरेको थियो । आयोजनाका इलेक्ट्रिक इन्जिनियर करमहुसेन खानले नदीमा पानी कम भएपछि उत्पादन घटेको जानकारी दिए ।

    ‘नदीमा पर्याप्त पानी छैन । त्यही भएर उत्पादन कम भएको हो । पोहोरभन्दा अहिले घटेको छ,’ उनले भने । मध्यमस्र्याङदीको भन्दा मस्र्याङ्दीको उत्पादन केही बढी रहेको उनले बताए । मध्यमस्र्याङदीपछि आसपासका केही नदीको पानी मिसिएर आएपछि तनहुँमा मस्र्याङदीबाट विद्युत उत्पादन हुन्छ । मस्र्याङ्दी पनि रन अफ दी रिभरमा आधारित आयोजना हो ।

    लोडसेडिङ बढ्ने सम्भावना
    खडेरीले नदीमा पानी घटेर विद्युत उत्पादन कम हुँदै गएपछि लोडसेडिङ बढ्न सक्ने सम्भावना प्रबल भएको छ । ठूला आयोजनाको उत्पादन पोहोर यो बेलाको तुलनामा अहिले २० मेगावाटसम्म घटेको छ । वर्षा नभएर खडेरी जारी रहे उत्पादन अझै कम हुने आयोजनाका अधिकारीको आशंका छ । सबैजसो आयोजनाको उत्पादन घटेको आयोजनाले बताएका छन् ।

    ‘यस्तै अवस्था रहिरहे केही दिनमा लोडसेडिङ बढ्न सक्छ,’ एक आयोजनाका प्रमुखले भने ‘अनि लोडसेडिङ बढ्न सक्छ ।’