चमेलियाको लागत घट्यो

    1118

    काठमाडौँ, चैत ८ गते । चमेलिया जलविद्युत् आयोजना स्वीकृत लागतभन्दा कम रकममा सम्पन्न भएको आयोजनाले दाबी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक लागत संशोधन गर्दा कुल लागत १५ अर्ब ९९ करोड ५३ लाख रुपियाँ गरेको थियो तर आयोजनाबाट विद्युत् उत्पादन हुञ्जेलसम्म १४ अर्ब ६१ करोड ५७ लाख रुपियाँ खर्च भएको छ ।

    आयोजना निर्माणको क्रममा संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारणले दुई वर्षभन्दा बढी समय काम रोकिएको आयोजना निर्माण सुरु गरेको ११ वर्षमा सम्पन्न भएको हो ।

    आयोजना सम्पन्न गर्न समय र लागत बढी लागेको भए पनि पछिल्लो संशोधित लागतभन्दा कम खर्च भएको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।

    आयोजनाबाट विद्युत् उत्पादन गर्ने काम सम्पन्न भए पनि आयोजनाका बाँकी रहेका केही काम सम्पन्न हुन अझै एक महिना लाग्ने भएको छ । आयोजना प्रमुख दाहालले भन्नुभयो, आयोजनाबाट विद्युत् उत्पादन गर्ने काम सम्पन्न भए पनि निर्माण ठेकेदारले केही प्राविधिक काम सम्पन्न गर्न बाँकी छ । सबै कार्य सक्न अझै एक महिनाजति लाग्ने देखिएको छ ।

    उहाँका अनुसार इलेक्ट्रोमेकानिकल परीक्षणअन्तर्गतको लोड रिजेक्सन परीक्षण अझै बाँकी रहेको छ । बाँध क्षेत्रमा पूर्ण क्षमतामा चलाउन सक्ने गरी पानी जम्मा गरी ३० मेगावाट बिजुली उत्पादन गरेर विद्युत् गृहमा परीक्षण गर्ने कार्य अझै बाँकी छ ।

    इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलका यथार्थ परीक्षण (क्यारेक्टर टेस्ट) पनि बाँकी रहेको छ । सुरुको डिजाइन गर्दा र पछि काम गर्दा केही यन्त्र उपकरणको साइज, बनोटलगायतका डिजाइनमा थोरै फरक पर्न गएको हुनसक्छ । त्यसको यथार्थ के हो भनेर क्यारेक्टर टेस्ट गर्नुपर्ने हुन्छ र त्यो टेस्टपछि नै आयोजनामा प्रयोग भएका मेसिन, औजार तथा स–साना उपकरणको यथार्थ साइज आयोजनाले आफ्नो विवरणमा अद्यावधिक गर्नुपर्ने हुन्छ ।

    यो विवरणसहितको सिभिल डकुमेन्ट परामर्शदातामार्फत् निर्माण ठेकेदारले आयोजनालाई उपलब्ध गराउनुपर्ने हुन्छ । आयोजनाका अनुसार विद्युत्गृह अगाडि केही भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने कार्य पनि बाँकी रहेकाले ठेकेदार कम्पनीले सो कार्य निर्माण सुरु गरिसकेको छ ।

    आफ्ना माग पूरा नभएको भन्दै केही दिनअघि आयोजनाको मुख्य भवन अगाडि धर्नासमेत दिएका थिए । स्थानीय बासिन्दाले चमेलिया नदीमा पक्की पुल निर्माणको माग राखेका भए पनि स्थानीय बासिन्दाले पुल निर्माण गर्दा जग्गाको मुआब्जा मागेकोले सो माग सम्बोधन गर्न गाह्रो भएको आयोजना प्रमुख दाहालले बताउनुभयो ।

    चमेलिया जलविद्युत् गृह र बाँध क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली राखिएको छ । जलविद्युत् उत्पादन केन्द्रमा नेपाल विद्युत् प्राधिकरणले सशस्त्र प्रहरी राखेको यो पहिलो पटक हो । यसअघि नेपाली सेनालाई राख्ने गरिएको थियो । सुरक्षामा खटिएको सशस्त्र प्रहरीले आयोजनाको संरचनाका साथै सो क्षेत्रका बासिन्दाको शान्तिसुरक्षालाई समेत सहयोग पु¥याउने छ । हालसम्म आयोजनाका रूपमा रहेको चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादन केन्द्रमा परिणत हुने र सोहीअनुसार प्राधिकरणले कर्मचारीलाई खटाउने तयारी गरिरहेको छ ।