नलसिंह गाड आयोजना ढिलाइ

    2648

    जाजरकोट, असार १ –
    नलसिंह गाड जलविद्युत् आयोजनाको डीपीआर कार्यमा ढिलाइ भएको छ । बजेट अभावमा आयोजनाको डीपीआर निर्माणमा ढिलाइ भएको हो ।

    देशकै ठूलोमध्ये एक यो जलविद्युत् आयोजनाको पहिचान भएको २५ वर्ष बित्यो । आयोजनाको सम्भाव्यता अध्ययनको कार्य सकिएको पनि २ वर्ष बितिसकेको छ । तर बजेट अभावले डीपीआर तयार हुन नसकेको हो ।

    त्यस्तै आयोजनाको विकास समिति गठन भएको वर्ष बित्न थाल्दा पनि कुनै काम अघि बढ्न सकेको छैन । जाजरकोट सदरमुकामबाट २० कोस पूर्वस्थित सक्ला र खगेनकोट गाविसमा निर्माण हुने भनिएको उक्त मेघा प्रोजेक्टको डीपीआर कार्यको सुरुवातसमेत हुन नसक्दा जिल्लावासी चिन्तित बनेका छन् । आयोजनाको विस्तृत प्रतिवेदन तयार नभई निर्माण चरणमा जान नसक्ने विकास समिति अध्यक्ष शेरबहादुर शाहीले बताए ।

    सरकारले आवश्यक बजेट विनियोजन नगर्दा यस्तो अवस्था हुन गएको अध्यक्ष शाहीको भनाइ छ । चालू आर्थिक वर्षमा आयोजनाको विविध कार्यका लागि समितिले ३ करोड ८९ लाख माग गरे पनि ६७ लाख बजेटमात्र सरकारले उपलब्ध गराएको उनले बताए ।

    विद्युत् प्राधिकरणले २ वर्षअघि तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन समितिलाई बुझाइसकेको छ । तीन दशक बित्न लाग्दा पनि आयोजना निर्माणका लागि डीपीआरसमेत तयार हुन नसक्नु दुःखद भएको आयोजना सरोकार समितिका सचिव विनबहादुर सिंहले बताए ।

    प्राधिकरणले ४ सय मेघावाट भन्दा बढी विद्युत् उत्पादन क्षमता भएको यो जलासयको हाइड्रोलोजिकल, फिल्ड सर्भे, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर डि्रलिङ, पावर अटिमाइजेसन, २ सय केभि प्रसारण लाइन सर्भे, फिल्ड सर्भे, वातावरणीय प्रभाव अध्ययन सर्भेलगायत सम्भाव्यता अध्ययनका कार्य सम्पन्न गरेको थियो । आयोजना निर्माण गर्दा सक्लाको अँधेरी खोलामा २ सय मिटर उचाइ ड्याम बनाई ७ किलोमिटर सुरुङ हुँदै खगेनकोटको काडादल्लीमा ५ सय ४५ मिटर उचाइको सस्टेंगबाट पावर हाउसमा पानी झार्नुपर्ने प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । नेपालमै हालसम्म सम्भाव्यता अध्ययन भएकामध्ये सबैभन्दा उपयुक्त र सस्तो मेघा प्रोजेक्ट नलसिंह गाड भएको शाहीले बताए । आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १ खर्ब १ अर्ब लागत लाग्ने अनुमान गरिएको उनले बताए ।