भारतलाई बर्सेनि ७२ करोड विद्युत् महसुल भुक्तानी

    1439

    नेपालगन्जः नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलवापत भारतलाई बर्सेनि ७२ करोड रुपैयाँ बुझाउँदै आएको छ । प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रमार्फत भारतलाई विद्युत् महसुल भुक्तानी गरिँदै आएको हो ।

    नेपालमा विद्युत् उपयोग गरेवापत जति रकम संकलन गरिए पनि भारतलाई भने ७० करोड रुपैयाँदेखि बढी महसुल बर्सेनि बुझाउनै पर्ने अवस्था रहेको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

    कतिपय ग्राहकले विद्युत् चोरी गर्ने र महसुल नबुझाउने गर्दा वार्षिक रूपमा यहाँ त्यति रकम संकलन नहुने हुँदा बर्सेनि विद्युत् प्राधिकरणले ठूलो घाटासमेत ब्यहोर्दै आएको वितरण केन्द्र प्रमुख उमेशकुमार झाले बताए ।

    वितरण केन्द्रले हाल नेपालगन्जका लागि भारतको २० मेगावाट विद्युत् प्रयोग गर्दै आएको छ भनेगत केही समय यता नेपालको पनि २० मेगावाट विद्युत् प्रयोग हुँदै आएको वितरण केन्द्र प्रमुख झाले जानकारी दिए ।

    नेपालले भारतलाई प्रतियुनिट १० रुपैयाँ २६ पैसाका दरले विद्युत् महसुल बुझाउँदै आएको छ । नेपालगन्ज क्षेत्रमा ४० मेगावाट विद्युत् आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

    यसैबीच विद्युत् महसुल नबुझाउने ग्राहकप्रति कठोर बन्दै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले महसुल नबुझाउने ५८७ जना ग्राहकको विद्युत् लाइन काटेर १ करोड ३२ लाख २१ हजार रुपैयाँ असुल गरेको छ ।

    यी ग्राहकबाट ७२ लाख २० हजार चुहावट रकमसमेत असुली गरिएको वितरण केन्द्रका लेखा अधिकृत केशरबहादुर ठाडाले बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा आव ०७३/७४ मा लाइन काटेर धेरै रकम असुली भएको जनाए । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर महसुल असुलउपर गरिएको हो ।

    वितरण केन्द्रले एक वर्षको अवधिमा २ लाख २० हजार युनिट चुहावट विद्युत्बाट ४२ लाख ८४ हजार १०२ रुपैयाँ असुल गरेको छ । विद्युत् चुहावट नियन्त्रण दल परिचालन गरेर विद्युत् प्राधिकरणले बाँकेका विभिन्न स्थानमा लुकीछिपी विद्युत् प्रयोग गर्नेलाई नियन्त्रणमा लिई जरिवाना र महसुल असुलउपर गरेको जनाएको छ ।

    स्रोत: कारोबार