विद्युत् महशुल बक्यौता : आधाभन्दा बढीले तिरे, ठूला ग्राहक अझै आएनन्

    950

    धेरै विद्युत् महशुल बक्यौता रहेर लाइन काटिएकामध्ये आधाभन्दा बढीले महशुल भुक्तान गरी लाइन जोडेका छन् । नेपाल विद्युत् प्राधिकरणको बुधवारसम्मको विवरणअनुसार यो तथ्याङ्क देखिएको हो ।

    बुधवारसम्म प्राधिकरणले अत्यधिक महशुल बाँकी रहेकामध्ये देशभरिकै गरेर ४ हजार ४ सय ४७ ग्राहकको लाइन काटेकोमा २ हजार ३ सय ८ जनाले बक्यौता भुक्तान गरी लाइन जोडेका छन् । ती ग्राहकबाट कुल बक्यौता रकम रू. २२ करोड ७६ लाख ७७ हजार रहेकोमा बक्यौता भुक्तान गर्नेहरूबाट रू. ८ करोड ६४ लाख उठेको छ । ग्राहक सङ्ख्याको आधारमा आधाभन्दा बढीले बक्यौता तिरे पनि उठ्नुपर्ने रकमका आधारमा भने करीब तीन भागको एक भाग मात्र रकम उठेको छ । यसबाट ठूला ग्राहक अभैm पनि महशुल तिर्न नआएको देखिन्छ ।

    प्राधिकरणले बुधवारदेखि सरकारी कार्यालयहरूको पनि लाइन काट्न शुरू गरेको छ । सरकारी कार्यालयहरूलाई ७ दिनभित्र बक्यौता भुक्तान गर्न प्राधिकरणले भदौ ७ गते सूचना जारी गरेको थियो । अटेर गरी बक्यौता भुक्तान नगर्ने विराटनगर, अत्तरिया, नेपालगञ्ज तथा बुटवलका सरकारी कार्यालयहरूको लाइन प्राधिकरणले काट्न थालिसकेको छ ।

    यसरी लाइन काटिनेहरूमा सबैभन्दा बढी गाउँ विकास समिति कार्यालय, सडक विभाग तथा स्वास्थ्य चौकीहरू रहेको प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद शिवाकोटीले बताए । ‘सरकारी कार्यालयमध्ये पनि सबैभन्दा बढी बक्यौता रहेका कारागार र अस्पताल भए पनि तिनको कार्यगत संवेदनशीलताका कारण लाइन काट्न सकिएको छैन,’ उनले भने, ‘यी निकायका पनि अलग मिटरमा जोडिएका आवासका लाइन भने काटेका छौं । एउटै मिटरबाट जोडिएको ठाउँको भने आवासको पनि काट्न सकिएको छैन ।’

    त्यसैगरी महेन्द्र मञ्जिल, जानकी मन्दिरलगायत केही स्थलको काटिएको लाइन जिम्मेवार निकायको आग्रहमा पुनः जोडिएको छ । मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलगायत स्थानबाट जोडिदिन आग्रहसहितका पत्र आएका कारण जोडिएको उपनिर्देशक शिवाकोटी बताउँछन् । यसरी जोडिएका लाइनको बक्यौता १ महीनाभित्र तिर्नुपर्ने हुन्छ ।

    line

    स्रोत : अभियान