चिलिमे आयोजना असारभित्रै

    1411

    चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन र माथिल्लो सान्जेनको निर्माण कार्यले गति लिएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण समस्यामा परेको आयोजना पछिल्लो समयमा निर्माण कार्यलाई द्रुत रूपमा अघि बढाइएको हो । निर्माण सामग्रीको अभाव हुन दिइएको छैन । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजना विवादको घेरामा फसिरहेको बेला चिलिमे कम्पनीका आयोजनाको काम युद्धस्तरमा अघि बढिरहेको हो । सान्जेन आयोजनाका प्रमुख गिरिराज अधिकारीले आगामी असारभित्रै सान्जेनको काम लगभग ७० प्रतिशतको हाराहारीमा सम्पन्न हुने जानकारी दिए । उनले हाल बाँधस्थलको निर्माण अगाडि बढिरहेको र सुरुङको काम पनि ६५ प्रतिशत सम्पन्न भएको बताए ।

    चिलिमे जलविद्युत् कम्पनीमार्फत हाल सान्जेन, तल्लो सान्जेन, रसुवागढी र मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । कुल १४ दशमलव ८ मेगावाट क्षमताको सान्जेनलाई आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुने देखिएको छ । प्राधिकरणले निर्माण गर्ने भनेको चिलिमे हबको विषयमा हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिमा देखिएको समस्याका कारण प्राधिकरणले सन् २०२० सम्म पनि प्रसारण लाइन निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ ।

    प्राधिकरणले जग्गा विवाद मिलाउन नसक्दा चिलिमेलगायत निर्माणाधीन अन्य आयोजनासमेत मारमा पर्ने देखिएको छ । ‘हामीले दैनिक १८ घन्टासम्म काम गरेका छौं, आयोजना तोकिएको समस्याभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ निर्माण कम्पनी बज्रगुरुका स्थानीय प्रतिनिधि प्रणव खड्काले भने,

    ‘निर्माण चाँडै सम्पन्न गरेर एक घन्टा भए पनि विद्युत्भार कटौती अन्त्य गर्न सकियो भने हामीलाई नेपाली जनताको आशीर्वाद लाग्नेछ ।’

    निर्माण स्थलमा भेटिएका इन्जिनियर सुदनसिंह महतले भूकम्प र नाकाबन्दीले समस्या नल्याइदिएको भए आयोजना लगभग निर्माण सम्पन्न हुने चरणमा पुग्ने बताए । ‘हामीले पछिल्लो दिनमा असाध्यै मेहनत गरेका छौं, निर्माण सामग्री, मजदुर तथा अन्य कुनै पनि समस्या छैन, यही गतिमा काम अगाडि बढ्यो र कुनै समस्या आएन भने आगामी एक वर्षभित्र आयोजना पूरा हुन्छ ।’

    आयोजना प्रमुख अधिकारीले प्रसारण लाइनको अभावमा सान्जेनको ५० प्रतिशत विद्युत् चिलिमेकै प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको बताए । ‘हामी तल्लो सान्जेन सम्पन्न गर्दा प्रसारण लाइन नबन्ने भएकाले समस्यामा परेका छौं, हामीसँग कुनै उपाय नै छैन,’ उनले भने ।

    रासस