घलेम्दी जलविद्युत आयोजनामा संस्थापक शेयर बिक्री खुल्ला

    2492

    २४ बैशाख, म्याग्दी । जलविद्युत परियोजनामा संस्थापक शेयर हाल्न चाहेका लगानीकर्ताहरुलाई अवसर जुटेको छ । म्याग्दीको नारच्याङ गाविसमा निर्माण हुन लागेको ४ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाले संस्थापक शेयर निष्काशन गरेको छ ।

    आयोजनामा न्यूनतम १० हजार रुपैयाँदेखि माथि लगानी गर्न सक्ने गरी संस्थापक शेयर निष्काशन गरिएको हो । आयोजनाको अनुमानित लागत ५६ करोड रुपैयाँ लाग्ने भएकोले पहिलो चरणमा १६ करोड ८० लाख इक्विटी सङ्कलनका लागि संस्थापक सेयर निष्काशन गरेको कम्पनीका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो । मंगलबार आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले आयोजनामा लगानीका लागि स्थानीयहरुलाई पहिलो प्राथमिकता दिईने बताउनुभयो ।

    स्थानीयबासी तथा निजी क्षेत्रको सक्रियता र लगानीमा जिल्लामै पहिलोपटक उक्त जलविद्युत परियोजना निर्माण हुन लागेको हो । परियोजना रेलिनार इनर्जी प्रालिले सिम्याट पावर डेभलपमेन्ट प्रालिसँग साझेदारी गरेर निर्माण सुरु गरिएको हो । कम्पनी छोटो समय र कम लगानीमा सम्पन्न हुने भएकोले राम्रो प्रतिफल आउने अध्यक्ष सुवेदीले बताउनुभयो । ‘बढी प्रतिफल प्राप्त हुने हुँदा आयोजनामा स्थानीयहरुले नै बढी लगानी गरुन भन्ने हाम्रो अपेक्षा हो’ उहाँले भन्नुभयो ।

    परियोजना २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उत्पादित विद्युतलाई वाषिर्क १३ करोड रुपैयाँमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता -पिपिए) भइसकेको छ ।

    Source : Online Khabar

    ———————————————————————————————————————————————————————–

    वैशाख २४, म्याग्दी । जिल्लाका व्यवसायीहरूको पहलमा म्याग्दीको नारच्याङ गाविसमा निर्माण शुरू भएको घलेम्दी जलविद्युत् आयोजनाले स्थानीय बासिन्दाबाट शेयर रकम सङ्कलन शुरू गरेको छ । ४ मेगावाट क्षमताको सो आयोजनालाई नेपालकै नमूना जलविद्युत् आयोजना बनाउने बताइएको छ । रेलिनार इनर्जी प्रालि बेनीले सोमवारदेखि सर्वसाधारणबाट शेयर सङ्कलन शुरू गरेको हो । ५६ करोड रुपैयाँ लगानी अनुमान गरिएको आयोजनाका लागि पहिलो चरणमा स्थानीयबाट १६ करोड ८० लाख रुपैयाँबराबरको शेयर आह्वान गरिएको कम्पनीका प्रबन्धक विमल रिजालले जानकारी दिए ।

    खुला गरिएको संस्थापक शेयर सदस्यका लागि न्यूनतम १० हजार रुपैयाँसम्मको शेयर प्रस्ताव गर्न सकिने उनले बताए । संस्थापक शेयर सदस्यका लागि म्याग्दीबासीलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ । आयोजनाको निर्माण आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि रिजालले जानकारी दिए । कम्पनीले स्थानीय बासिन्दालाई संस्थापक शेयर दिनेबारे सोमवार एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रमका वक्ताहरूले स्थानीय उद्योगी व्यवसायीको नेतृत्वमा निर्माण हुन लागेको आयोजना सफल बनाउन आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । म्याग्दीमा भित्रने रेमिट्यान्सलाई आयोजनामा लगानी गर्न उत्प्रेरित गर्नु आवश्यक रहेको वक्ताहरूको धारणा थियो । कार्यक्रममा लगानीको सुरक्षा र आयोजनामा अवरोध हुन नदिन सुरक्षा निकाय, प्रशासन तथा स्थानीय राजनीतिक दलसँग रेलिनार इनर्जीका अध्यक्ष किशोर सुवेदीलगायतका वक्ताहरूले अनुरोध गरेका थिए ।

    यसैबीच, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्राडा. गोविन्दराज पोख्रेलले सरकारले लागू गरेको ऊर्जा नीति विभेदपूर्ण रहेको वताएका छन् । बागलुङको बोहोरागाउँमा सोमवार आयोजित निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको उद्घाटन एवम् घरभित्रको धूवाँमुक्त गाविस घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले जलविद्युत्को हकमा शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा लागू गरेको नीतिलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औंल्याए  ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ऊर्जाक्षेत्र सहयोग कार्यक्रम, धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र, गाविस कार्यालय, व्यक्तिगत आर्थिक सहयोग, ओसियन पावर सर्भिस बुटवलको प्राविधिक सहयोग, स्थानीय जनश्रमदान गरी ३ करोड ४३ लाख ६६ हजारको लागतमा निसीखोला जलविद्युत् आयोजना निर्माण भएको हो । सय किलोवाट क्षमताको निसीखोला आयोजना २०६८ सालमा निर्माण भएको हो ।

    अभियान