११ जलविद्युत् आयोजनामा साढे ७२ अर्ब लगानी

    2816

    जलविद्युत् विकास तथा लगानी कम्पनीले विभिन्न बैंकसँग सहवित्तीयकरण गरी ११ वटा जलविद्युत् आयोजनामा ५४ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । सरकारले जलविद्युत् क्षेत्रको विकासका लागि २०६९ सालमा स्थापना गरेको कम्पनीले हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ सय ८८ दशमलव ३ मेगावाट भएका ११ आयोजनामा लगानी गरेको हो ।

    ती आयोजनाको कुल लागत ७२ अर्ब ४८ करोड रुपैयाँ छ । ‘ कम्पनीले विभिन्न बैंकसितको सहवित्तीयकरणका आधारमा ११ आयोजनामा ५४ अर्ब ३६ करोड ३७ लाख ऋण लगानी गरेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले भने । उनका अनुसार ती आयोजनामा कम्पनी एक्लैले ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको छ । ती आयोजनाका प्रवर्द्धकले बाँकी रकम १८ अर्ब १२ करोड रुपैयाँ भने इक्विटीबापत आफैं जुटाएका छन् ।

    रौनियारले ती ११ वटै आयोजनाले वित्तीय स्रोत जुटाई निर्माण कार्य अघि बढाउन थालेको जानकारी दिए । उनका अनुसार कुल विद्युत् उत्पादन क्षमता २ सय ९१ मेगावाट भएका थप ८ जलविद्युत् आयोजनाले समेत कम्पनीमा ऋण लगानीका लागि आवेदन दिएका छन् । कम्पनीले ती आयोजना आर्थिक रूपमा लगानी गर्न योग्य छन् कि छैनन् भनेर अध्ययन गरिरहेको छ । लगानीका लागि योग्य देखिएमा कम्पनीले ती आयोजनामा समेत अरू बैंकसँगको सहवित्तीयकरणमा ऋण लगानी गर्ने जानकारी रौनियारले दिए ।

    विश्व बैंकले सरकारमार्फत ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनालाई सहुलियतपूर्ण ऋण लगानी गरेको छ । सरकारले शून्य दशमलव ७५ प्रतिशत ब्याजमा पाएको विश्व बैंकको उक्त रकम काबेली एलाई कम्पनीमार्फत २ दशमलव ५ प्रतिशतमा ऋण दिएको छ । बुटवल पावर कम्पनीको प्रमुख लगानी रहेको काबेली इनर्जी लिमिटेडले काबेली ए जलविद्युत् आयोजना पाँचथर ताप्लेजुङको सीमामा निर्माण सुरु गरिसकेको छ ।

    कम्पनीले विभिन्न बैंकसितको सहवित्तीयकरण गरेर काबेली एबाहेक ८२ मेगावाटको तल्लो सोलु, ४९ दशमलव ६ मेगावाटको सुपर दोर्दी, ४२ मेगावाटको मिस्ती खोला, २७ मेगावाटको दोर्दी खोला, २३ दशमलव ५ मेगावाटको सोलु खोला, ३० मेगावाटको खानी खोला, २० मेगावाटको वागमती, २५ मेगावाटको काबेली बी(१, २१दशमलव ६ मेगावाटको तल्लो हेवा र ३० मेगावाटको न्यादीमा लगानी गरेको छ ।

    रौनियारले कम्पनीले मिस्ती खोलामा ९६ करोड,  काबेली एमा ४ अर्ब २५ करोड, दोर्दीमा ५० करोड, सोलु खोलामा २० करोड, खानी खोलामा ४० करोड, वागमती खोलामा २० करोड, तल्लो सोलुमा ६० करोड, काबेली बी १ मा २० करोड, तल्लो हेवामा १५ करोड, न्यादीमा ५० करोड र सुपर दोर्दीमा ४० करोड ऋण लगानी गरेको छ, ती आयोजनालाई बाँकी ऋण कम्पनीसित सहवित्तीयकरण गरेका अरू बैंकले दिएका छन् । कम्पनीमा सरकारको ५ अर्ब, नागरिक लगानी कोष, बिमा संस्थान र कर्मचारी सञ्चय कोषको एकरएक अर्ब गरी आठ अर्ब तथा सर्वसाधारणको सेयर २ अर्ब गरी १० अर्ब पूँजी छ ।

    कान्तिपुर