रुदी ‘ए’ आयोजनाको निर्माण सम्पन्न

    1244

    काठमाडौं । पछिल्लो दिनमा निजीक्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् । सरकारी स्वामित्व एवम् लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रूपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् ।

    केही दिन पहिलेमात्रै लमजुङमा नै आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको थियो । यस्तै, दोलखामा आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको सिङ्गटी जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण सम्पन्न भएको थियो ।

    यसैक्रममा लमजुङ र कास्कीको सिमानामा पर्ने रुदी ‘ए’ जलविद्युत्  आयोजनाको निर्माण कार्य सकिएको छ । स्थानीय रुदी खोलामा निर्माण गरिएको ८ दशमलव ८ मेगावाट क्षमताको सो आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाले १५ दिन नेपाल् विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिएको छ भने एक महीनाभित्र व्यावसायिक विद्युत् उत्पादन थालिने आयोजनाले जानकारी दिएको छ । असोज २० गतेदेखि नहरमा पानी राखेर परीक्षण थालिएको छ । नेपाल विद्युत्् प्राधिकरणसँग व्यावसायिक विद्युत् उत्पादन मिति (सीओडी) गतवर्षको असारमा नै तोकिएको थियो । निर्माण कार्यमा केही ढिलाइ भएपछि आयोजनाले व्यावसायिक उत्पादन मिति पर सारेको हो ।

    रुदी ‘ए’ जलविद्युत्को २०६९ माघ २८ गते विद्युत् खरीद विक्री सम्झौता (पिपिए) भएको थियो । निर्माण शुरू भएको २ वर्ष ५ महीनाको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । हिउँदको समय ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरीद सम्झौता भएको हो ।

    १ अर्ब ५० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो । २०७४ असार मसान्तभित्र सक्ने भनिए पनि ०७३ को असारमा बाढीपहिरोले निर्माणाधीन आयोजनामा क्षति पु¥याएपछि निर्माण अवधि लम्बिएको थियो । त्यसअघि भूकम्प र नाकाबन्दी साथै पहिरोले आयोजनाको निर्माण कार्य प्रभावित बनेका आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले बताए ।

    विद्युत्गृहमा ४ दशमलब ४ मेगावाटका दुई पेलटन टर्बाइन जडान गरिएको छ । अहिले इण्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको उनले बताए । लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदीगाउँ र कास्कीको मादी गाउँपालिका–८ सिङदीबेसीमा आयोजनाको बाँध निर्माण गरिएको छ ।

    आयोजनामा ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी हालिएको छ । मादी–९ बालुवाबोसीमा निर्माण गरिएको विद्युत्गृहबाट परीक्षण उत्पादन शुरु गरिएको छ । आयोजनाको सिभिलतर्फ हाइ हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रो मेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इञ्जिनीयरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोशिबा प्लाण्ट सिष्टम एण्ड सर्भिस कर्पोरेशनले काम गरेको छ ।

    आयोजानको प्रवद्र्धकमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट प्रालि रहेको छ । आयोजनामा प्रवद्र्धकको ३० प्रतिशत स्वपूँजी रहेको छ भने सानिमा बैङ्कलगायतले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवद्र्धक कम्पनीले ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । उक्त आयोजनाको पावरहाउसको सिभिलतर्फको काम सकिएको छ । रासस