मादी हाइड्रोले स्थानीयलाई सेयर दिने

    1255

    पोखरा : कास्कीको सिल्दजुरेमा निर्मित माथिल्लो मादी हाइड्रो पावरका सञ्चालकले स्थानीयलाई सेयर दिन तयार रहेको बताएका छन् ।

    स्थानीयको माग भए संस्थापक र साधारण सेयरबाट निश्चित प्रतिशत छुट्याउन तयार रहेको हाइड्रोका अध्यक्ष विजय मल्लले बताए । उक्त हाइड्रोको मुख्य लगानीकर्ता चिनियाँ कम्पनी थ्रीगर्जेजअन्तर्गतको सिडब्लु हो । मल्ल नेपाली साझेदार हुन् । नेपाल र चिनियाँ दुवै सरकारहरुसँग अनुमति लिएर स्थानीयलाई सेयर दिन आफूहरुले चाहेको मल्लले बताए ।

    २५ मेगावाट क्षमताको मादीमा लक्ष्य गरेभन्दा बढी लगानी भइसकेको जानकारी पनि उले दिए । सामान्यता प्रतिमेगावाट लगानी १५—२० करोड हुने भए पनि मादीमा २८ करोड खर्च भएको उनले बताए । उनकै भनाइ अनुसार ७ अर्ब रुपैयाँमा आयोजनाको अहिलेसम्मका काम सकिएका छन् । मल्लका अनुसार आयोजना ५ अर्ब ५८ करोड रुपैयाँमा सक्ने लक्ष्य थियो । अमेरिकी डलरको मूल्यवृद्धि हुने, नेपालमा भूकम्प जानु र भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुनु लगायत कारण आयोजनाको लागत वृद्धि भएको मल्लले जनाए ।

    २५ मेगावाट क्षमता भए पनि अहिले १६ देखि १८ मेगावाट उत्पादन भइरहेको जानकारी उनले दिए । मनसुन सुरु भएपछि पूर्ण क्षमतामा उत्पादन हुने उनले बताए ।

    २०६९ पुस १३ गते निर्माण सुरु आयोजनाले निर्धारित समयभन्दा ८ महिला ढिला अर्थात २०७३ पुस १५ गतेबाट उत्पादन थालेको थियो । आयोजनाको सुरुङ खन्दा नजिकै पटक—पटक पहिरो गएको थियो । त्यो र भूकम्प तथा नाकाबन्दी लगायत कारण निर्धारित समयमा आयोजना पूरा हुन नसकेको हो । विदेशीको लगानी भए पनि यो हाइड्रो पावरसँग विद्युत प्राधिकरणमा नेपाली रुपैयाँमै विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । विदेशी लगानीका अरु आयोजनाले भने अमेरिकी डलरमा पीपीए गरेका छन् । पहिला २० मेगावाटको सम्भावना देखेर त्यतिको पीपीए गरेको आयोजनाले पछि फेरि ५ मेगावाटको सम्झौता थपेको थियो । ती दुवैमा पीपीए दर पनि फरक फरक छ । ५ मेगावाटको वर्खामा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसाका दरले पीपीए भएको छ ।

    बिजुली उत्पादन थालिसकेको भए पनि अझै एक वर्ष निर्माणका काम भइरहने जानकारी उनले दिए । निर्माणका क्रममा ५ सय स्थानीयले काम पाएको र अहिले कार्यरतमध्ये ७५ प्रतिशत नेपाली रहेको उनले बताए ।

    चीनको थ्रीगर्जेज जलविद्युत कम्पनी अन्तर्गतको सिडब्लु हाइड्रोले मादीमा लगानी गरेको हो । आयोजनाका अपरेसन म्यानेजर चिनिया नागरिक यु जाओले प्रोजेक्टबाट कमाएर बाँच्न पनि मुस्किल परिरहेको बताए । उनले स्थानीयसँग अनुरोध गरे, ‘हामीलाई सास फेर्ने समय दिनोस् ।’

    स्थानीयका थुप्रै माग पूरा गरेको बताउँदै मल्लले विद्यालय, स्वास्थ्यचौकी, सडक, नाली लगायत क्षेत्रमा लगानी गरेको, आमा समूहहरुलाई सहयोग गरेको र उद्यमशीलता विकास गर्न सहायता दिएको जानकारी दिए । स्थानीयसँग २०६९ चैतमा गरेको २३ बुँदे सम्झौताभन्दा धेरै काम गरिरहेको र कमाइ हुँदै गएपछि थप गर्ने आश्वासन उनले दिए । ‘हाम्रो जत्तिको क्षमताको आयोजनाले हामीले जति समाजसेवा कतै गरेको छैन’, उनले भने, ‘अन्त पनि बुझेर हे¥यो भने थाहा हुन्छ ।’ मादी नदीमा दाहसंस्कारका लागि घाट निर्माणमा सघाउने र आयोजनाकै एउटा गाडी एम्बुलेन्सका रुपमा प्रयोग हुने गरी स्थानीयलाई दिने प्रतिबद्धता मल्लले व्यक्त गरे ।

    मादी जलाधार सरोकार समितिका अध्यक्ष तथा पार्चे गाविसका पूर्वअध्यक्ष मनबहादुर गुरुङले देशको आवश्यकता जलविद्युत भएको मानेर सहयोग गरेको बताए । अर्का स्थानीय तथा मादी गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष लालबहादुर गुरुङले सहमति कार्यान्वयन भए आफूहरुलाई कुनै गुनासो नहुने सुनाए ।

    स्रोत:अन्नपूर्ण पोस्ट