पानी तान्न सौर्य ऊर्जा

    1340

    बझाङ —  गाउँभन्दा झन्डै तीन सय मिटर तल रहेको मुहानको पानी माथि आउला र घर नजिकै धारा होला भनेर बड्डी ज्यावनवासीले सोचेका थिएनन् । वर्षौंदेखि खानेपानीका लागि सास्ती बेहोर्दै आएका उनीहरूको नसोचेको सपना प्रविधिले पूरा गरिदिएको छ ।

    सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी योजना निर्माण भएपछि यहाँका बासिन्दाको दैनिकी फेरिएको छ । सौर्य ऊर्जा प्रविधि प्रयोग गरी निर्माण गरिएको यो खानेपानी जिल्लाकै पहिलो हो । यसअघि गाउँभन्दा झन्डै आधा घण्टा टाढा रहेको मुहानबाट पानी ल्याउनुपर्थ्यो ।

    आउजाउ गर्न एक घण्टा लाग्थ्यो । खाना पकाउन, भाँडा धुन, सरसफाइ गर्न र पशुबस्तुलाई खुवाउनका लागि पानी बोक्न प्रत्येक घरको एक जनाले दिनभर खटिनुपर्थ्यो । ‘रात विरात भन्न पाइँदैनथ्यो । पानी लिनकै लागि दिनकै ७/८ पटक उकालो ओरालो गर्नुपर्थ्यो,’ स्थानीय नन्दा बोहराले भनिन्, ‘दुधे बालक काखी च्यापेर अँध्यारामै पानीका लागि दगुर्नुपर्थ्यो । एक जना त पानी बोक्नैका लागि भनेर घरमै बस्नुपर्ने बाध्यता थियो ।’

    बुंगल नगरपालिका ६ मा पर्ने यो गाउँ निकै विकटमा छ । ३० परिवार धामी र बोहरा जातिको बसोबास रहेको गाउँको पुस्तौंदेखिको खानेपानी समस्या बुंगल नगरपालिकाको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले समाधान गरिदिएको हो । गाउँलेको नगद र श्रमदान गरेर ५ लाख ६७ हजार, नगरपालिकाको १ लाख ७३ हजार र परियोजनाको २१ लाख ४५ हजार गरी करिब २८ लाख ९० हजारको लागतमा खानेपानी आयोजनाको निर्माण सम्पन्न
    भएको छ ।

    सुरुमा त गाउँलेले यो योजना बन्छ भनेर पत्याएका थिएनन् । ‘तलको पानी माथि कसरी आउला भनेर पत्याउँदै पत्याएनन्,’ परियोजनाका जलस्रोत प्राविधिक शिवबहादुर विष्टले भने, ‘यस्तै खालको खानेपानी निर्माण भएको बैतडी जिल्लाको महादेवस्थानमा केही उपभोक्तालाई लगेर अवलोकन गराएपछि उनीहरू योजना बनाउन कस्सिए ।’

    गाउँ नजिकै खानेपानीको मुहान कतै थिएन । पानीको ठूलो समस्या भएकाले वैकल्पिक प्रविधिको प्रयोग गरिएको जलस्रोत इन्जिनियर निराजन श्रेष्ठले बताए । लागतमा केही महँगो भए पनि खानेपानीको अन्य विकल्प नभएका बस्तीमा यस्तो प्रविधि वरदान साबित हुने उनको भनाइ छ । नियमित मर्मतसम्भार गर्नसके यो योजनाले २० वर्षभन्दा बढी समयसम्म सेवा दिने श्रेष्ठले बताए । उनले भने, ‘राम्रोसँग सञ्चालन गर्ने हो भने एक पुस्तासम्म धान्न सक्छ । नेपालका धेरै ठाउँमा यो प्रविधिको सफल प्रयोग भइसकेको छ ।’

    पुस्तौंदेखिको खानेपानीको समस्या समाधान भएकामा खुसी व्यक्त गर्दै बड्डी ज्यावन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कल्याण धामीले भने, ‘कोही पाहुना आइहाले पनि पानी दिन लोभ लाग्थ्यो । घरमै धारा पाएका छौं । हाम्रो पुस्तौंदेखिको दु:ख हटेको छ ।’

     

     

    स्रोत:कान्तिपुर