त्रिवेणीमा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै

    2098

    रुकुम(पश्चिम)को त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादनको काम तीव्र रूपमा अगाडि बढेको छ । ८ करोडको लागतमा रुकुम उज्यालो कार्यक्रमअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५ करोड, स्थानीयको २ करोड र सिभिल बैंकको १ करोड लगानीमा विद्युत् उत्पादन हुन लागेको हो ।

    सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले उत्पादन गर्न लागेको आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको संस्थाका अध्यक्ष लक्ष्मण ओलीले बताए । अहिलेसम्म नहर निर्माणको काम ९० प्रतिशत सकिएको छ भने एक सय ५० भन्दा बढी पोल, पेनिस्टिक पाइप र अन्य मेसिनरी सामाग्री आइपुगेका छन् । यस आयोजना निर्माणको जिम्मा गौरा कन्स्ट्रक्सन र हाइड्रो इनर्जीले लिएका छन् । डेढ वर्षमा आयोजना निर्माणको काम सम्पन्न गर्ने गरी ०७३ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार असार मसान्तसम्म आयोजनाको काम सक्नुपर्नेछ । तर, आयोजना निर्माणको काम दुई महिना पछाडि धकेलिने भएको छ । राज्य पुनर्संचनाका कारण रकम आउन ढिलाइ हुँदा निर्माणमा असर परेको अध्यक्ष ओलीले बताए ।

    १ हजार ७६ घरधुरीको सेयरलगानी
    विद्युत् आयोजना निर्माणमा स्थानीय १ हजार ७६ घरधुरीले २ करोड लगानी गरेका हुन् । प्रतिपरिवार १५ हजारदेखि ३० हजारसम्म रकम उठाएको सहकारी संस्थाका अध्यक्ष ओलीले बताए । आयोजनाको निर्माण सम्पन्न भएपछि २२ सय घरधुरी लाभान्वित हुनेछन् ।

    स्रोत:नयाँपत्रीकाa