रुदीमा साढे १५ मेगावाटको जलविद्युत्

    1146

    चैत्र ८, २०७३- लमजुङ र कास्कीको सिमानाको रुदीखोलामा दुईवटा जलविद्युत् आयोजना एकसाथ निर्माण थालिएको छ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिले तल्लो क्षेत्रमा ८.८ मेगावाटको रुदी ‘ए’ र माथिल्लो क्षेत्रमा ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाको निर्माण थालेको छ ।

    आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर सरोज भट्टराईका अनुसार ०७२ वैशाख १२ को भूकम्प, त्यसपछिको नाकाबन्दी र गत भदौमा आएको बाढीपहिरोले आयोजना निर्माणमा ढिलाइ भएपनि हाल द्रुत गतिमा चलिरहेको छ । उनका अनुसार गत असारमै निर्माण सक्ने योजना रहेको थियो । ‘गएको भदौमा पहिराले निर्माणस्थलमा क्षति पुर्‍यायो,’ उनले भने, ‘आगामी भदौभित्र सबै काम सक्ने योजना छ । दसैंअगावै केन्द्रीय प्रसारण लाइनमा विद्युत् जोडिन्छ ।’ आयोजनाको ६० प्रतिशत निर्माण सकिएको उनले बताए ।

    आयोजनाको सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि, हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियररिङ प्रालिले काम गरिरहेको छ । इलेक्ट्रोमेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एन्ड सर्भिस कर्पोरेसनले जिम्मा लिएको छ । रुदी ‘ए’ आयोजना लमजुङको सिङीबेंसीमा बाँध बाँधेर कास्कीको रबैडाँडा हुँदै ६ किमि पेनस्टक पाइपमार्फत पानी ल्याई बालुवाबेंसीमा निर्माण हुने गृहबाट विद्युत् उत्पादन गरिनेछ । रुदी ‘ए’ को ०६९ माघ २८ मा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा सम्झौता भएको छ । उक्त आयोजना १ अर्ब ३६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो । रुदी ‘ए’ सँगै प्रवद्र्धक कम्पनीले रुदी ‘बी’ साना जलविद्युत् आयोजनाको पनि निर्माण थालेको हो ।

    बिन्ध्यवासिनीले नै निर्माण थालेको रुदी ‘बी’ आयोजना आगामी भदौसम्म निर्माण सक्ने योजनामा छ । ‘आउँदो असारभित्र काम सक्नुपर्ने हो । प्राकृतिक प्रकोपका कारण यसको पनि समयमै काम अघि बढाउन सकिएन,’ उनले भने, ‘यसलाई पनि आउँदो भदौसम्म सक्ने हाम्रो योजना छ ।’ आयोजनाको लागत १ अर्ब ३ करोड रुपैयाँ छ । सिङदी गाउँ नजिकैको टोंगो खोला दोभानमा बाँध बाँधेर सिङीबेंसीमा निर्माण गरिने गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिने उनले बताए । पानी ल्याउन साढे ३ किलोमिटर लामो पेनस्टक पाइप प्रयोग गरिनेछ ।

    – कान्तिपुर