After Earthquake Upper Tamakoshi Construction from Next week

    933

    राष्ट्रिय गौरवको स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु हुने भएको छ । १२ वैशाखको भूकम्पपछि निर्माण ठप्प भएको माथिल्लो तामाकोसीको आयोजनाको निर्माण कार्य आगामी सातादेखि सुरु गरिने भएको हो । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोको उच्च व्यवस्थापनबिच भएको छलफलपछि आगामी सातादेखि नै काम गर्न ठेकेदार कम्पनी सहमत भएको हो । ‘ठेकेदार कम्पनी आगामी सातादेखि तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन तयार भएको छ,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘पहिला आयोजना स्थलको निर्माणका लागि कति सुरक्षित छ भनेर अध्ययन गरेर काम अघि बढ्नेछ ।’

    आयोजना स्थलको सुरक्षा जाँचबारे अध्ययन भएपछि त्यसको आधारमा आयोजनाको निर्माण कार्य अघि बढाउने आयोजनाले जनाएको छ । आगामी सातादेखि भूकम्पबाट क्षतिग्रस्त गोगरदेखि लामाबगरसम्मको १२ किलोमिटर सडकको निर्माण सुरु गर्ने र दसंैअघि नै सक्ने लक्ष्य तामाकोसीको छ । आयोजना स्थलको सुरक्षा चेकजाँच र पहुँचमार्ग पूरा गरेपछि आयोजनाको सिभिल कार्य अघि बढाउने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

    आयोजनाका अनुसार भूकम्पबाट सिभिलतर्फ मात्र डेढ अर्बभन्दा बढी नोक्सान भएको छ भने भूकम्पको कारण आयोजनाको निर्मााण कार्य एक वर्ष ढिला हुने अनुमान छ । परामर्शदाता र विज्ञहरूले आयोजनास्थल पुगेर गरिएको अध्ययनले आयोजना खतरामुक्त देखिएको थियो तर अझै भूकम्पका पराकम्पन गइरहेको तथा पहिला भएको क्षतिको आधारमा अब निर्माणमा जाँदा कति खतरापूर्ण हुन्छ भन्ने विस्तृत अध्ययनले मात्र आयोजनाको निर्माण सम्पन्न मिति र थप लागतको तय हुने आयोजना प्रमुख श्रेष्ठले बताए । भूकम्पको कारण ६ महिनादेखि निर्माण ठप्प भएको आयोजनाको पूर्ण काम दसैंतिहारपछि मात्र सुरु हुने देखिएको छ ।

    आयोजनाका अनुसार आयोजनाका भूमिगत संरचनाहरू सुरुङ र विद्युत् गृहमा कुनै क्षति भएको छैन भने बाँध १७ सेन्टिमिटर धसिएको छ । भूकम्पका कारण गोगरदेखि लामाबगरसम्मको १२ किलोमिटरको सडक भने क्षतिग्रस्त भएको छ । सात ठाउँमा ठुलो पहिरो गएको छ । त्यसैगरी, आयोजनाको कभर ड्यामसमेत भत्केको छ ।

    आयोजना ०७३ असारसम्ममा निर्माण सम्पन्न भएर आगामी वर्षदेखि नै वर्षामा लोडसेडिङ हट्ने अपेक्षा गरे पनि भूकम्पको कारणले थप समस्या परेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ०६८ साल जेठमा शिलान्यास भएको सो आयोजनाको मुख्य सिभिलको काम ०६७ साल भदौदेखि नै सुरु भएको थियो ।

    हाइड्रोमेकानिकल कार्य ०७२ वैशाख, मेकानिकल तथा इलेक्ट्रिकल कार्य ०७२ चैत र प्रसारण लाइनको निर्माण ०७२ असारभित्र पूरा गर्ने लक्ष्य राखिएकोमा भूकम्पपछि ढिलाइ भएको छ । विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र कर्मचारी सञ्चय कोष लगानी तथा ऋणमा सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत रहेको तामाकोसीको सुरुङमा समस्यालगायत कारणले बढेर ४१ अर्ब पुगेको छ । भूकम्पले २ अर्बभन्दा बढी लागत बन्ने अनुमान आयोजनाको छ ।

    स्रोत: राजधानी