सौर्य, वायु र जैविक ऊर्जा उत्पादन गर्न सर्वेक्षेण लाइसेन्स

    2597

    alternative_energyकाठमाडौं, २४ फागुन – सरकारले सौर्य, वायु र जैविक स्रोतबाट ऊर्जा उत्पादन गर्न निजी क्षेत्रलाई सर्वेक्षण लाइसेन्स दिएको छ ।
    ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको लाइसेन्स दिँदै आएकोमा हालै १ सय मेगावाट सौर्य ऊर्जा उत्पादनको सर्वेक्षण गर्न तीन संस्था, जैविक स्रोतबाट ६.५ मेगावाट विद्युत् उत्पादन सर्वेक्षण गर्न दुई र पाँच मेगावाट वायुऊर्जा उत्पादनको सर्वेक्षण गर्न एक संस्थालाई सर्वेक्षण लाइसेन्स दिएको हो ।
    ऊर्जाले पिपुल्स डेभलपमेन्ट एन्ड पावरटेक कम्पनी प्रालिलाई तनहुँ जिल्लाको जामुनेस्थित मनुङडाँडामा सोलार प्लान्ट स्थापना गरी ५० मेगावाट विद्युत् उत्पादनको सर्वेक्षण गर्न लाइसेन्स दिएको छ । यस्तै नेपाल ह्वाइट पावर प्रालिलाई राजधानीको काभ्रेस्थलीमा ४९ मेगावाटको सौर्यप्लान्ट स्थापना गर्न सर्वेक्षण अनुमति दिएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सुन्दरीघाटमा ६ सय ८० किलोवाट क्षमताको सोलार प्लान्ट निर्माण गरी सञ्चालनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण गरिएको छ ।
    यस्तै, वायोमासअन्र्तगत ग्यासफायर प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गर्न बुटवल पावर कम्पनी र साढे तीन मेगावाटको थर्मलप्लान्टबाट विद्युत् उत्पादन गर्न बालाजी वायोमास एन्ड ब्रिकेट पावर कम्पनीलाई सर्वेक्षण अनुमति दिएकोे छ ।
    यस्तै नेपाल इन्टरनेसनल रिनेवल पावर कम्पनीलाई दोलखाको मालुमा वायुऊर्जा प्लान्टबाट पाँच मेगावाट ऊर्जा उत्पादन गर्न सर्वेक्षण अनुमति दिएको छ ।
    यी कम्पनीले सर्वेक्षण गरी प्रस्तावित आयोजनाबाट नवीकरणीय ऊर्जा उत्पादन गरे नेपालमा विद्यमान ऊर्जा कटौती (लोडसेडिङ) निकै घट्ने ऊर्जा मन्त्रालयले जनाएको छ । जलविद्युत् आयोजनाको तुलनामा प्रस्तावित आयोजनाबाट विद्युत् उत्पादन गर्न बढी लागत परे पनि यसबाट उत्पादित विद्युत् विश्व बैंकअन्तर्गतको स्वच्छ विकास संयन्त्रमा दर्ता भई नेपालले यथेष्ट लाभ लिन सक्नेछ । नेपालमा जलविद्युत् उत्पादनसँगै भौगोलिक विविधताका कारण नवीकरणीय ऊर्जा उत्पादनको उच्च सम्भावना देखिएको छ ।

    प्रस्तुति: कारोबर