Free Solar for twenty five thousand household

    1504

    २५ हजार घरमा निःशुल्क सौर्य ऊर्जा

    Solar_Hillकाठमाडौं-वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भुइँचालोबाट ध्वस्त भएका २५ हजार घरधुरीका लागि तत्काल निःशुल्क सौर्य ऊर्जा जडान गरिदिने भएको छ।

    सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायत जिल्लालाई लक्षित गरी उक्त परिमाणका सौर्य ऊर्जाका पाता जडान गर्न लागिएको हो। प्रभावित जिल्लाका १२ हजार परिवारका लागि सोलार जडान गर्ने विषयमा निर्णय भइसकको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए।
    ‘थप १३ हजार घरधुरीका लागि सोलार जडान गर्ने विषयमा निर्णय हुन बाँकी छ,’ उनले नागरिकसँग भने, ‘निःशुल्क सोलार पाता जडानका साथै बायोग्यास र सुधारिएको चुलोसमेत निःशुल्क जडान गरिदिने गरी काम सुरु भएको छ।’
    केन्द्रले भूकम्पपीडित ९ हजार ५ सय परिवारका लागि सुधारिएको चुलो र ५ सय बायोग्यास तत्काल जडान गरिदिने पनि धितालले बताए। वैकल्पिक ऊर्जा क्षेत्रमा देशभर करिब १ अर्ब ५० करोड रुपैयाँबराबरको क्षति भएको केन्द्रले जानकारी दियो।
    भुइँचालोबाट साना तथा लघु–जलविद्युत आयोजना, सौर्य ऊर्जा, बायोग्यास र सुधारिएको चुलोमा ब्यापक क्षति पुगेको छ। केन्द्रका अनुसार ३४ जिल्लामा २ सय ६२ लघु जलविद्युत आयोजनामा क्षति पुगेको छ भने ९१ वटा आयोजना बन्द भएका छन्।
    लघु जलविद्युत आयोजनामार्फत ३० मेगावाट बिजुली उत्पादन भइरहेकोमा हाल १० मेगावाट बराबरको बिजुली आपूर्ति रोकिएको छ। करिब ३५ हजार घरधुरी यसबाट प्रत्यक्ष प्रभावित भएको धितालले बताए। यसैगरी, १० लाख सुधारिएको चुलोमध्ये १ लाख ४० हजार र ३ लाख २० हजार बायोग्यासमध्ये १७ हजारमा प्रत्यक्ष क्षति पुगेको छ।
    प्रारम्भिक प्रतिवेदनअनुसार भुइँचालोबाट देशभर जडान गरिएका ६ लाख सोलारमध्ये ७० हजार र ९ सय ५० संस्थागत सौर्य ऊर्जामध्ये डेढ लाख पूर्णरुपमा ध्वस्त भएका छन्। ‘ध्वस्त भएका संरचना तथा क्षेत्रको पुनर्निर्माण तथा सुधारका लागि केन्द्रले तहगतरुपमा तीनवटा योजना कार्यान्वयन गर्नेछ,’ धितालले भने।
    भुइँचालोबाट ध्वस्त घर तथा परिवारका लागि तत्काल राहत दिन सौर्य पाता जडान तथा मोबाइल चार्ज हब स्टेसन निर्माण गर्ने, दोस्रो चरणमा पुनःस्थापना तथा पुनर्निर्माण र तेस्रोमा नव–निर्माणको योजना तहगतरुपमा कार्यान्वयन गर्ने तयारीमा केन्द्र छ।
    ‘भुइँचालोले क्षति पुगेका तथा ध्वस्त भएका लघु–जलविद्युत आयोजना मर्मत गरेर सञ्चालनमा आउने देखिए मर्मत गरिनेछ,’ उनले भने, ‘यसरी सञ्चालनमा नआउने देखिए पुरानै ठाउँमा नयाँ आयोजना बनाइनेछ।’
    तत्कालिक कार्ययोजनाअनुसार केन्द्रले सौर्य पाता निःशुल्क जडान गर्ने र जलविद्युत आयोजना केही रकम सर्वसाधारणले लगानी गर्ने गरी सस्तोमा निर्माण गरिदिने केन्द्रको योजना छ। सरकारले भुइँचालोबाट ३४ जिल्ला प्रभावित घोषणा गरे पनि १५ जिल्लामा लघु–जलविद्युत र सोलार आयोजना बढी ध्वस्त भएका छन्।

    Source : Nagarik