७३ मेगावाटको मध्य तमोरका लागि लगानी जुट्यो

1787

ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको छ ।
कुल लागत १२ अर्ब ६८ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइ तथा नबिल, ग्लोबल आईएमई बैंकको सह–अगुवाइमा सात बैंकले ऋण लगानी सम्झौता गरेसँगै वित्तीय व्यवस्थापन भएको हो । आयोजनाका लागि ९ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको आयोजनाले जनाएको छ । सानिमा हाइड्रो समूहको सहायक कम्पनी सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनी र बैंकबीच ऋण लगानी सम्झौता भएको छ ।

इन्भेष्टमेन्ट, नबिल, ग्लोबल आईएमईसहित बैंकमा एनएमबी, एनसीसी, लक्ष्मी र नेपाल एसबीआईले ऋण लगानी गर्नेछन् । आयोजनामा बैंकले ७५ प्रतिशत ऋण लगानी गर्न लागेको छ भने २५ प्रतिशत स्वपुँजी (इक्वेटी) लगानी रहनेछ । आयोजनाको सानिमामाई हाइड्रोपावर कम्पनी एक्लैले ४८ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने जनाएको छ ।
निर्माण सुरु भएको आयोजनाको निर्माणकार्य २०७८ भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् कोसी करिडोरको ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने र सबस्टेसनसम्म आवश्यक १२ किमि प्रसारणलाइन निर्माण गरिने कम्पनीले जनाएको छ ।

: कारोबार