हाइड्रो एक्स्पो सम्पन्न, ६० हजारले गरे अवलोकन

1464

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पो ६० हजारभन्दा बढीले अवलोकन गरेको मेला आयोजकको दावी छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को आयोजनामा भएको जलविद्युतसम्वन्धी यस मेलामा विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकनकर्ताको विशेष आकर्षण रहेको जनाइएको छ । यसबाहेक रोबोट कम्पिटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी पनि अवलोकनकर्ताको चासो देखिएको थियो ।

एक्स्पोमा सहभागीहरुलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराइएको इप्पानले जनाएको छ । मेलामा ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श उपलब्ध गराएका थिए ।

एक्स्पोमा जलविद्युत प्रवर्धकबाहेक, यस क्षेत्रसँग सम्वन्धित उपकरण, आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा वीमा कम्पनी, जलविद्युत क्षेत्रका नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित व्यवसायको सहभागिता रहेको थियो ।