१८ मेघावाट विद्युत् स्टेसनमै डम्प

    1339

    हापुरे (दाङ) : दाङको हापुरेमा १८ मेघावाट विद्युत् डम्प भएको छ। दाङ भ्यालीलाई विद्युत् आपूर्ती सहज गराउने उद्देश्यले झन्डै साढे तीन करोड लगानीमा निर्माण भएको कुसुम–हापुरे एक सय ३२ केबी प्रसारण आयोजनाअन्तर्गतको दाङको हापुरेमा रहेको स्टेसनमा विगत ६ महिनादेखि १८ मेघावाट विद्युत् स्टेसनमै डम्प भएको छ। अत्तरिया ग्रेडअन्तर्गत विद्युत् वितरण हुने गरी आयोजना निर्माण गरिएको हो।

    स्टेसनमा डम्प भएको विद्युत् उपभोक्तालाई वितरण गर्न सके जिल्ला पूर्ण रूपमा लोडसेडिङ मुक्त हुने थियो। अनियमित रूपमा हुँदै आएको विद्युत् अवरोध पनि समाधान हुने आयोजनाले जनाएको छ। २०७३ साल भदौदेखि सुरु भएको आयोजना निर्माणअन्तर्गत ६ महिना अगाडि स्टेसनमा विद्युत् उत्पादन भएको थियो। त्यो विद्युत् अहिले उपभोक्तालाई दिन सकिएको छैन।

    आयोजना निर्माणको जिम्मा पाएको निर्माण कम्पनी मुडवरी एन्ड जोशी कन्स्ट्रक्सनले तोकेअनुसारको काम पूरा नगर्दा जिल्लाको हापुरे स्टेसनको विद्युत् उपभोग हुन नसकेको आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए। चौधरीले पूर्वाधार निर्माणमा ठेकेदारले लापर्बाही गर्दा विद्युत् डम्प भएको बताए।

    १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको भए पनि विद्युत् वतरण केन्द्रसहित केही पूर्वाधार अहिलेसम्म पूरा नगर्दा आएको विद्युत् पनि उपभोक्तालाई दिन नसकिएको उनको भनाइ छ। ‘जति सक्यो छिटो उपभोक्तालाई विद्युत् दिने तयारीमा आयोजना छ, तर निर्माण कम्पनीको चरम लापर्बाहीले दिन सकिएको छैन’, आयोजना प्रमुख चौधरीले भने, ‘ताकेता गर्दा अहिलेसम्म सयौ पत्र काटिसकियो तर पनि काम पूरा गर्ने चासो निर्माण कम्पनीले देखाएको छैन।’

    डम्प भएको विद्युत् वितरण गर्न सके दाङ पूर्णरूपमा लोडसेडिङमुक्त हुने।

    ‘निर्माण कम्पनीको चरम लापर्बाहीले ११ केबीको वितरण केन्द्र बन्न सकेको छैन, वितरण केन्द्र नबन्दा विद्युत् स्टेसनमै खेर गएको र जिल्ला अन्धकार छ’, प्रमुख चौधरीले भने। निर्माण कम्पनीलाई दुई महिना म्याद थप गर्दासमेत काम पूरा नगरेको र सम्पर्कमा नआएको उनले बताए। आयोजनाको निर्माणको जिम्मा मुडवरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले लिएको थियो।

    लापर्बाहीका कारण समस्या आएको आयोजनाले जनाएको छ। हापुरे स्टेसनमा विद्युत् वितरणका लागि सबस्टेसन नबन्दा १८ मेघावाट विद्युत् खेर गएको स्टेसनका इलेक्ट्रिसियन प्रकाश विकले बताए। १८ मेघावाट विद्युत् वितरण गर्न सके राप्तीमा विद्युत् अभाव नहुने उनको भनाइ थियो। तर निर्माण कम्पनीले वितरण केन्द्र निर्माण नगर्दा सबै विद्युत् स्टेसनमै रोकिएको उनले जानकारी दिए।

    निर्माण कम्पनीका सञ्चालक अजय मुडवरी र किरण मुडवरीलाई फोन सम्पर्क गर्दा फोन रिसिभ भएन। अहिले अनियमित रूपमा विद्युत् जाने समस्याले दाङका उपभोक्ता आजित भएका छन्। हापुरे लाइन जोड्न सके विद्युत्मा सहजता आउने विद्युत् प्राधिकरण तुलसीपुर केन्द्रका प्रमुख दीपकजंग चौधरीले बताए।

    स्रोत:अन्नपूर्ण