४३ मेगावाट क्षमतामा १४ मेगावाट मात्रै

    1451

    ४३ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा रहे पनि १४ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । लामो समयको खडेरीका कारण खोलामा पानी घट्दा अधिकांश आयोजनाको उत्पादन घटेको हो । यहाँका माई र पुवाखोलामा रहेका विद्युत् गृहले दुई साताअघि अझ कम विद्युत् उत्पादन गरेका थिए । केही दिनदेखि हल्का वर्षा सुरु भएकाले उत्पादनमा सुधार आएको हो ।

    चिसापानी र दानाबारीमा रहेको २२ मेगावाटको सानिमा र उसैको ८ मेगावाटको क्यासकेट आयोजनाबाट ८ मेगावाट मात्र उत्पादन भइरहेको छ । गोदकस्थित काबेली करिडोरको सबस्टेसनमा सानिमाका दुवै विद्युत् गृहको विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।

    खोलामा पानीको बहाव बढ्न थालेकाले आयोजनाले अब निरन्तर उत्पादन बढ्ने जनाएको छ । चैत वैशाखको अत्यन्तै सुख्खा याममा १ हजार किलोवाट मात्र उत्पादन गरेको ६ दशमलव २ मेगावाटको पुवाखोलाको उत्पादन ३ मेगावाट पुगेको काबेली करिडोरका दीपक राईले बताए । पुवाखोलाको पानी प्रयोग गरेर निर्माण भएको जिल्लाको एक मात्र सरकारी स्वामित्वको आयोजना सुख्खा याममा बढी नै प्रभावित हुने गरेको छ ।

    माईखोलाको पानीलाई प्रयोग गरेर गोदकमा सञ्चालित ४ दशमलव ५ मेगावाटको साना माईखोला विद्युत् आयोजनाको उत्पादन १ हजार ६ सय किलोवाट छ । छोटो हेड भएको यस आयोजनाले सुख्खा याममा ४/५ किलोवाट मात्र विद्युत् उत्पादन गर्न सकेको तिल्केनीस्थित सबस्टेसनले जनाएको छ । हिमाल दोलखा हाइड्रो प्रालिले यो आयोजना सञ्चालन गरेको हो ।

    पुवामझुवामा सञ्चालित जोशी हाइड्रोपावरको अप्परपुवाले १ हजार ७ सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । ३ मेगावाट क्षमताको यो आयोजनाका विद्युत् पाँचथरतर्फ जाने गरेको छ ।

    मावु र माइमझुवामा सञ्चालित ९ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई हाइड्रो व्यावसायिक उत्पादनको अन्तिम तयारीमा छ । आन्तरिक परीक्षणमा रहेको यो आयोजनाको विद्युत् पनि गोदकस्थित काबेलीको सबस्टेसनमा जोडिने छ । अप्परमाईको ६ मेगावाटको क्यासकेट आयोजना निर्माणाधीन छ । जोशी हाइड्रोपावरको राजदुवालीमा ८ मेघावाटको अर्को आयोजनाको कामलाई निरन्तरता दिएको छ ।

    नाम्सालिङ, नयाँबजार र सूर्योदय नगरपालिकाको बीचमा पर्ने जोगमाई खोलामा निर्माणाधीन ७ दशमलव ६ मेगावट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजनाको काम ७० प्रतिशत सकिएको छ । बरबोटे र शान्तिडाँडा बीचको पुवाखोलामा निर्माणाधीन ४ मेगावाटको पुवाखोला वान जलविद्युत् आयोजनाको काम ३५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ । दुई वर्ष भित्रमा जिल्लामा ७८ मेगावाट विद्युत् उत्पादन हुने छ ।

    स्रोत : कान्तिपुर