सजिलो छैन जलविद्युत् आयोजनाका सुरुङभित्रका काम

    1854

    मुलुक ऊर्जा सङ्कटमा छ । सरकार र निजी क्षेत्रले विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । तर जलविद्युत् आयोजनामा कार्यरत मजदुरले कसरी काम गरिरहेका होलान् र उनीहरुको सेवा सुविधा के कस्तो होला भन्नेबारेमा आम मान्छेलाई जानकारी छैन ।

    विशेष गरी जलविद्युत् आयोजनाको सुरुङमार्गभित्र जोखिम मोलेर काम गर्ने मजदुरको दैनिकी असाध्यै कष्टकर रहन्छ । अक्सिजनको अभाव, निर्माण सामग्री आसोरपसार गर्दा आइपर्ने झन्झट पनि अर्को कठिन कार्यको रुपमा लिइने गरिन्छ

    ;fGh]g hnljB't cfof]hgf lrlnd] hnljB't cfof]hgfn] lgdf{0f ul//x]sf] tNnf] ;fGh]g hnljB't cfof]hgfsf] ;'?ªu dfu{leq hf]lvdk"0f{ sfd ub}{ dhb'/ . oxfF ;'?ªuleq sfd ug]{ bIf dhb'/ kfpg ;d:of x'Fb} cfPsf] 5 . tl:a/ M /d]z nD;fn, /f;;

    चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको तल्लो सान्जेन जलविद्युत् आयोजनामा कार्यरत मजदुर भने मुलुकलाई उज्यालो पार्ने काममा आफूहरु संलग्न हुन पाउँदा अन्य कष्ट सामान्य लाग्ने गरेको बताउँछन् ।

    “चिममा बलेको उज्यालो हेर्दा लाग्छ, यो उज्यालोमा मेरो रगत पसिना छ, मेरो श्रम छ,” सान्जेनको सुरुङभित्र भेटिनु भएका दैलेखका लोकबहादुर खाणले रासससँग भन्नुभयो – “ काम जोखिम भए पनि आफूले गरेको कामप्रति गौरव लाग्छ । मुलुक बिजुलीको अभावमा छटपटाइरहेको बेला हामीले चाँडै काम सम्पन्न ग¥यौं भने केही मात्रामा भए पनि राहत हुन्थ्यो भन्ने लाग्छ ।”

    गत सालको गोरखा भूकम्पपछि सुरुङभित्र काम गर्दा भूकम्प आउँछ कि भन्ने डर उत्पन्न हुने गरेको खाणले बताउनुभयो । सोही जलविद्युत् आयोजनाको सुरुङभित्र भेटिनुभएका प्यूठानका टोपबहादुर योगी लोडर चलाउनुहुन्छ । यसअघि अपर माई, हेवा खोलामा काम गरेको अनुभव छ उहाँलाई । “खतरा मोलेर काम गर्दा कहिलेकाँही घरको याद आउँछ, तर रोजगारी पाइँदैन, सीप भए जलविद्युत् आयोजनामा काम पाउन समस्या छैन ” – योगीले भन्नुभयो ।

    जमिनमुनि सुरुङमा काम गर्दा सजिलो नभए पनि मुलुकलाई ठूलो योगदान दिने काम गरिएको छ भन्ने भावना आम मजदुरमा छ । ठेकेदारले जोखिममा काम गर्ने मजदुरलाई सेवा सुविधा पनि राम्रै दिएका छन् ।

    निर्माण व्यवसायीले आवश्यक परेको स्थानमा जुनसुकै मजदुरलाई पनि परिचालन गर्ने गरेका छन् । उनीहरु जहाँ लगेपनि खुसीका साथ काम गर्ने गरेका छन् । रसुवाकै लाक्पा गुम्बु पनि सुरुङमार्गमा काम गर्दा गर्दै भेटिनुभयो । “रोजगारी पाउनु नै महत्वपूर्ण विषय भएकाले कष्ट भए पनि काम गरिएको छ, दूरदराजमा विद्युत् बल्दा असाध्यै खुसी लाग्छ” – गुम्बुले भन्नुभयो ।

    कपिलवस्तुका रवीन्द्रप्रसाद पोखरेल सुरुङभित्र सबैभन्दा कठिन मानिएको ड्रिलिङको काम गर्नुहुन्छ । विगत १३ वर्षदेखि मुलुकका विभिन्न जलविद्युत् आयोजनामा काम गर्दैआउनु भएका पोखरेल पछिल्लो दुई वर्षदेखि सान्जेन जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएको छ ।

    खिम्ती, झिमरुकलगायतका आयोजना सम्पन्न गरेको अनुभव छ पोखरेलसँग । “सुरुङभित्र काम गर्दा डर त लाग्छ तर आजभोलि अनुभव भएकाले त्यति गाह्रो लाग्दैन, सुरक्षात्मक उपाय अपनाइन्छ,” पोखरेलले भन्नुभयो ।

    सान्जेन जलविद्युत् आयोजनाको दुईवटा परियोजना हाल निर्माणको क्रममा रहेको छ । कुल १४.८ मेगावाट क्षमताको सान्जेन र ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेनमा हाल एक हजार बढी मजदुर विभिन्न काममा व्यस्त छन् ।

    कोही कसैसँग बोल्ने फुर्सद समेत छैन । सुरुङभित्र उज्यालो र अभाव हावाको अभाव रहन्छ ।

    माथिल्लो सान्जेन जलविद्युत् आयोजना बज्रगुरु र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रमले निर्माण गरेको छ भने तल्लो सान्जेन तुदी निर्माण सेवा र भारतीय उपक्रमले निर्माण गरिरहेको परियोजना हो ।

    निर्माण कम्पनीले आवश्यकताका आधारमा मजदुर परिचालन गर्ने गरेका छन् । बज्रगुरु निर्माण सेवाका प्रतिनिधि प्रणव खड्का जलविद्युत् आयोजना मुलुकको महत्वपूर्ण विषय भएकाले एक मिनेट पनि ढिला नगरिकन काम जारी रहेको बताउनुहुन्छ ।

    रासस