७५ मेगावाटको त्रिशुली–गल्छी आयोजना बनाउन सिद्धकालीलाई लाइसेन्स

    1629
    Trishuli Galchhi Hydroelectric Project (75 MW) receive the Generation License
    काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित सिद्धकाली पावर लिमिटेडले ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी आयोजनाबाट विद्युत उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
    ऊर्जा मन्त्रालयले हालै सिद्धकालीलाई त्रिशुली–गल्छीबाट विद्युत उत्पादनको लाइसेन्स दिएको हो । गत जेठमा नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावर लिमिटेडको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
    आयोजना बनाउन १४ अर्ब ४० करोड रुपैयाँ लाग्ने छ । ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत प्रवद्र्धकको स्व पुँजी लगानी हुनेछ । आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा ऋण लगानी हुने भएको छ । बैंकबाट ९ अर्ब ८३ करोड रुपैयाँ लगानी हुनेछ । जसअनुसार सेयर लगानी ४ अर्ब ३२ करोड रुपैयाँ हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ७२ लाख रुपैयाँ लाग्ने देखाएको छ ।
    धादिङ र नुवाकोट जिल्लाको त्रिशुलीमा निर्माण हुने आयोजनाबाट वार्षिक ४६ करोड ८१ लाख ८५ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट ६३ किलोमिटर टाढा छ । काम सुरु गरेको  ४२ महिनामा आयोजाको काम सम्पन्न हुनेछ । आयोजनाको बाँध नुवाकोटको रातमाटे र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुनेछ । सुरुङको लम्बाई ८ किलोमिटर छ । आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारणलाइनबाट राजधानीमा ल्याइने छ । त्रिशुली–गल्छीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भारतको डिजाइन ग्रुप कन्सल्टेन्टमार्फत भएको हो । कम्पनीले आयोजना प्रभावित धादिङ र नुवाकोटका बासिन्दालाई १० प्रतिशत आर्थत ४२ करोड १४ लाख रुपैयाँको सेयर छुट्टाइएको छ । यस्तै सर्वसाधारणलाई १५ प्रतिशत छुट्टाइएको छ ।
    ३३१५ मेगावाट बिजुली उत्पादन लाइसेन्स
    सरकारले हालसम्म ३ हजार ३१५ मेगावाट बिजुली उत्पादनका लागि ११९ कम्पनीलाई लाइसेन्स दिएको छ । यी आयोजना सार्वजनिक र निजी लगानीमा निर्माण हुन लागेका हुन् । हालसम्म सरकारले लाइसेन्स दिएको मध्य सबैभन्दा ठूलो आयोजना माथिल्लो तामाकोसी हो । यो आयोजनाको जडित क्षमता ४५६ मेगावाट छ । हालसम्म २ हजार २ सय मेगावाट क्षमताका आयोजना निर्माणधिन अवस्थामा छन् । यी मध्ये केही आयोजना सम्पन्न भइसकेका छन् भने केही निर्माणाधिन र निर्माणको तयारीमा छन् ।  हालसम्म जलविद्युतबाट मात्र साढे ८ सय मेगावाट बिजुली उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्ने सीमा बढाएपछि लगानी बढेको छ ।
    स्रोत : १२ खरी