आधा दर्जन जलविद्युत् कम्पनीले स्थानीयलाई सेयर दिँदै

    1161
    आधा दर्जन जलविद्युत् कम्पनीले स्थानीयलाई ७० लाख ८५ हजार ४१७ कित्ता साधारण सेयर निष्कासनको तयारी गरेका छन् ।
    न्यूनतम १० प्रतिशतसम्म आयोजना प्रभावित स्थानीयलाई सेयर दिनुपर्ने व्यवस्थाअनुसार जलविद्युत् कम्पनीहरूले पहिलो चरणमा स्थानीयलाई सेयर दिन लागेका हुन् । सेयर निष्कासन गर्न कम्पनीहरू धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेका छन् । स्थानीयलाई सेयर निष्कासन गर्न लागेका जलविद्युत् कम्पनीहरूमा हिमालय पावर पार्टनर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, अरुण काबेली पावर लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेड छन् ।
    हिमालयले २७ मेगावाटको दोर्दीखोला, नेपाल हाइड्रोले ३.५ मेगावाटको चर्नावती, युनाइटेड मोदीले १० मेगावाटको तल्लोमोदी, आँखुखोलाले ७ मेगावाटको आँखुखोला आयोजना, अरुण काबेलीले २५ मेगाावटको कावेली बी १ र छ्याङ्दीले २ मेगावाटको छ्याङ्दी आयोजनाको अनुमति उर्जा मन्त्रालयबाट पाएका छन् । यीमध्ये केही निर्माणाधीन छन् भने केही निर्माण भइसकेका छन् । दोर्दी र छ्याङ्दी लमजुङ जिल्लामा पर्छन् भने काबेली पाँचथर र ताप्लेजुङमा पर्छन् भने आँखुखोला गोरखा र धादिङमा पर्छ ।
    दोर्दीखोला र काबेली बी आयोजना निर्माणाधीन छन् । चर्नावती, तल्लो मोदी, आँखुखोला र छ्याङ्दी भने निर्माण भइसकेका छन् । ६ जलविद्युत् आयोजनाको कुल जडित क्षमता ७४.५ मेगावाट छ । अरुण काबेलीले स्थानीयका लागि ३० लाख कित्ता साधारण सेयर निष्कान गरिरसकेको छ । काबेली आयोजना आगामी कात्तिकमा सम्पन्न हुँदैछ । दोर्दी पनि निर्माणधीन अवस्थामा छ । सबै कम्पनीले सेयर बिक्री प्रबन्धक नियुक्त गरिसकेका छन् ।
    पछिल्लो समय सर्वसाधारणको जलविद्युत्मा चासो बढेपछि प्रवद्र्धक कम्पनीरूले धमाधम स्थानीयका अतिरिक्त सर्वसाधारणलाई सेयर दिन थालेका छन् । ९ वटा जलविद्युत् कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भई सेयर बजारमा कारोबार भइरहेको छ । पछिल्लो समय सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)ले २ करोड कित्ता सेयर सूचीकरण भई कारोबार सुरु भइसकेको छ । एचआईडीसीएलको सेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ पुगेको छ ।
    आयोजना प्रभावित स्थानीयलाई न्यूनतम १० प्रतिशतसम्म सेयर लगानी गर्न दिनुपर्ने बाध्यकारी अवस्था आएपछि पछिल्लो समय जलविद्युत् आयोजनाले सर्वसाधारणलाई लगानी खुला गर्न थालेका छन् । जलविद्युत् कम्पनीको मात्र ११ करोड ६१ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावर लिमिटेडले हालैमात्र सर्वसाधारणमा सेयर निष्कासन गरेका थिए । यी दुई कम्पनीको सेयर सूचीकरणको प्रक्रियामा छ । त्यस्तै माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेनलगायत साना–ठूला दर्जनभन्दा बढी आयोजनाको सेयर बजारमा आउँदैछ ।
    स्रोत : १२ खरी