पञ्चेश्वर प्राधिकरणलाई जग्गा दिन ढिलाइ, पाँच महिना पुरानो पत्रको जवाफ आएन

    1777

    पञ्चेश्वर विकास प्राधिकरणले कार्यालय स्थापना गर्न जग्गा माग गरे पनि महेन्द्रनगर नगर विकास समितिले जग्गा उपलब्ध गराउन ढिलाइ गरेको छ । पञ्चेश्वर प्राधिकरणले जग्गा माग गर्दै महेन्द्रनगर नगर विकास समितिमा पत्र पठाएको ५ महिना बितिसकेको छ । तर, समितिले अझै पनि जग्गा दिने निर्णय गर्न सकेको छैन ।

    प्राधिकरणले ०७२ फागुन १६ गते कार्यालय स्थापना गर्ने प्रयोजनका लागि जग्गा माग गरेको थियो । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको ईकोपार्क क्षेत्रमा १० बिघा जग्गा माग गर्दै प्राधिकरणले पत्राचार गरेको समितिको कार्यालयका नायव सुब्बा पुष्पराज भट्टले बताए ।

    उनका अनुसार जग्गा माग गरिएको क्षेत्रमा गुरुयोजनाअन्तर्गत ईकोपार्क स्थापना गर्ने भनिएकाले प्राधिकरणलाई जग्गा दिन समिति बोर्डले निर्णय गर्नुपर्ने हुन्छ । सहरी विकास मन्त्रालयले नगर विकास समितिका प्रशासनिक बाहेकका कामकाज रोक्का गरेकाले अहिलेकै अवस्थामा जग्गा दिने निर्णय गर्न नसकिने समितिले जनाएको छ ।

    पञ्चेश्वरलाई आवश्यक जग्गा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सहरी विकास मन्त्रालयले समेत पहल गरिरहेको छ । सहरी विकास मन्त्रालयले ०७३ जेठ २८ गते पत्राचार गर्दै महेन्द्रनगर नगर विकास समितिलाई जग्गा दिने विषयमा समन्वय गर्न निर्देशन दिएको थियो ।

    “जग्गा दिने विषयमा समन्वय गर्न भनेर मन्त्रालयबाट पत्र प्राप्त भएको थियो, हामीले समितिको कामकारबाही मन्त्रालयबाटै रोकिएकाले जग्गा दिने निर्णय गर्न नसकिने भनेर जवाफ पठाएका थियौं,” नायब सुब्बा भट्टले भने ।

    त्यसपछि सहरी विकास मन्त्रालयबाट ०७३ असार ७ गते महेन्द्रनगर नगर विकास समितिमा अर्काे पत्र आएको छ । “पञ्चेश्वर विकास प्राधिकरणलाई जग्गा दिने र निर्माणाधीन सिटी हलको काम अघि बढाउने निर्णय गर्न मात्रै फुकुवा गरिएको पत्र प्राप्त भएको छ,” भट्टले भने ।

    पञ्चेश्वर विकास प्राधिकरणलाई जग्गा दिने निर्णय गर्न सक्ने गरी कामकारवाही फुकुवा गरिएको भए पनि महेन्द्रनगर नगर विकास समितिले जग्गा दिने निर्णय गर्न चासो दिएको छैन । “सरकारी आवश्यकताको जग्गा दिन कामकारबाही गर्ने भनेर फुकुवा भएर आएको छ ।

    तर, जनताका अत्यावश्यक काम गर्ने सन्दर्भमा कामकाज रोक्का नै छ,” महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टले भने, “नगर विकास समितिलाई सबै कामकाज गर्न फुकुवा नगरिएसम्म पञ्चेश्वरलाई जग्गा दिने निर्णय गर्न सकिँदैन” ।

    नगर विकास समितिमा जग्गा माग गरिएको र जग्गा दिने काम प्रक्रियामा रहेको पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङले बताए । जग्गा दिन ढिलाइ भइरहँदा पञ्चेश्वर प्राधिकरणको काममा केही बाधा पुगेको छ कि ? भन्ने प्रश्नमा गुरुङले भने, “हामी फलोअपमै छौं, जग्गा दिने निर्णय छिटो भइदिए राम्रो हुन्थ्यो ।”

    पञ्चेश्वर विकास प्राधिकरणले भीमदत्त नगरपालिकाको खैरेनीमा भाडाको घरमा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । काठमाडौंबाट महेन्द्रनगरमा कार्यालय सार्ने काम भइरहेकाले कार्यालय खुलेपछि थप जानकारी दिने प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङ बताए ।

    नेपाल–भारतको सीमा नदी महाकालीमा स्थापना गर्ने भनिएको पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन लगानी बोर्ड मातहत गठन गरिएको पञ्चेश्वर विकास प्राधिकरणमा नेपाल र भारत दुवै देशका प्रतिनिधि सदस्य छन् ।

    पञ्चेश्वर विकास प्राधिकरणको केन्द्रीय कार्यालय महेन्द्रनगरमा स्थापना गर्ने भनेर यसअघि नै निर्णय भइसकेको थियो । भारतीय कम्पनी वापकोसले पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम गरिरहेको छ ।

    स्रोत : कारोबार