२० मेगावाटको तल्लो मोदी धमाधम

    2835

    पर्वत, भाद्र ३१ –
    निजी क्षेत्रको मनाङ टे्रड लिंक प्रालिले बनाउन लागेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण धमाधम हुन थालेको छ ।

    पातीचौर बजारको पुछारबाट मोदीखोलाको पानीलाई सुरुङमार्फत लगेर चुवास्थित पराधीमा विद्युत्गृह बनाएर विद्युत् उत्पादन गरिने आयोजनाले सुरुङ निर्माणलाई तीव्र पारेको छ । भदौ ३ गतेदेखि औपचारिक रूपमा निर्माण सुरु गरेको आयोजनाको ४ हजार ५ सय मिटर लामो सुरुङ खन्ने काम भइरहेको छ । ‘हालसम्म साढे २१ मिटर सुरुङ बनाइसकिएको छ,’ आयोजनाका इन्जिनियर प्रवीण श्रेष्ठले भने, ‘डेढ वर्षमा सुरुङको काम सकेर अर्को डेढ वर्षमा आयोजना पूरै सकिने गरी काम थालेका छौं ।’

    आयोजनाले १ सय १२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । छिटफुट जग्गा पनि अधिग्रहणको प्रक्रियामा छ । यसमा नेपाल इन्भेस्टमेन्ट बैंकलगायत ११ वटा बैंकले ऋण लगानीका लागि प्रतिबद्धता जनाएका छन् ।

    आयोजनामा नेपाली व्यापारीहरू कुमोद दुगड, ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका र नन्दकिशोर मुन्डाराको लगानी छ । ३ अर्ब ४० करोड रुपैयाँको लागतमा बन्न लागेको योजना ३ वर्षभित्र निर्माण पूरा गरिने लक्ष्य छ । आयोजनाको अध्यक्ष दुगड हुन । आयोजनाले २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता -पीपीए) गरेको थियो । सम्झौताअनुसार ३५ वर्षपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ । रन अफ द रिभर प्रकृतिको आयोजनाले बाजुङ, दुर्लुङ, चुवा, तिलहार र देउपुर गाविसलाई प्रभावित क्षेत्रमा राखेको छ ।

    प्राधिकरणले १२ वर्षअघि बनाएको १४ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रको विद्युत्गृहबाट निस्केको पानी सीधै लैजाने भएकाले बाँधसमेत बनाउन नपर्ने अवस्था छ । ‘अहिले बाँध बनाउन पर्ने/नपर्ने अध्ययन भइरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले विद्युत् आयोजनाको निर्माणले जिल्लाको अन्य क्षेत्रमा पनि चौतर्फी विकास कार्य वृद्धि हुन सक्ने बताए ।

    ‘स्थानीयलाई रोजगारीसँगै लोडसेडिङ कम हुन्छ,’ कर्माचार्यले भने, ‘उद्योगधन्दा र कलकारखानाका लागि सजिलो हुने छ । साथै स्थानीयवासीको दैनिक जीवन सञ्चालनमा पनि सहज हुने छ ।’

    प्रस्तुति: कान्तिपुर