हिमालय ऊर्जा विकास कम्पनी तीन आयोजना निर्माण गर्दै

    3032

    – कुल लागत रू.३ अर्ब १५ करोड   – ४ वर्षभित्र निर्माण पूरा

    भदौ २२, काठमाडौं ।

    himal_1378613153 हिमालय ऊर्जा विकास कम्पनी प्रालिले दुईओटा जलविद्युत् आयोजनासहित खिम्ती–गज्याङ प्रसारण लाइन निर्माण गर्ने भएको छ । निर्माण गरिने आयोजनाहरूमा १२ मेगावाटको अपर खिम्ती र ७ मेगावाटको अपर खिम्ती दोस्रो रहेका छन् । कम्पनीले निर्माण गर्न लागेको १ सय ३० केभी क्षमताको खिम्ती–गज्याङ प्रसारण लाइनको लम्बाइ भने ३० किलोमिटर रहेको छ । ती तीन आयोजनाको कुल लागत करीब रू.३ अर्ब १५ करोड भएको परियोजना प्रबन्धक प्रकाश दुलालले अभियानलाई बताए । उनका अनुसार ती सबै आयोजनाको काम विसं. २०७४ भित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

    निर्माणाधीन आयोजनामध्ये अपर खिम्तीको निर्माण कार्य २०७२ साल कात्तिकभित्र पूरा हुने कम्पनीले बताएको छ । सो आयोजनाको विद्युत् खरीद गर्नेसम्बन्धमा आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच २०६७ माघ ९ गते नै विद्युत् खरीद सम्झौता (पीपीए) पनि भइसकेको छ । साथै आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन (ईआए) तयार गर्नेलगायत काम पनि पूरा भइसकेको बताइएको छ । दुलालले कम्पनीले आयोजना निर्माणका लागि गत पुसमै उत्पादन अनुमतिपत्र लिइसकेको पनि जानकारी दिए । रामेछापको चुचुरे गाविस र दोलखाको श्यामा गाविसको सीमामा पर्ने खिम्ती खोलामा आयोजना निर्माण हुन लागेको हो ।

    आयोजनाको कुल लागत करीब रू.१ अर्ब ६० करोड रहेको छ । दुलालका अनुसार आयोजनामा नबिल बैङ्कको नेतृत्वमा विभिन्न बैङ्क तथा वित्तीय संस्थाले लगानी गर्ने छ । उनले आयोजना निर्धारित समयमा सम्पन्न भए पनि प्रसारण लाइन नभएकाले समस्या हुने बताए । सरकारले २०७१ सालभित्र प्रसारण लाइन निर्माण गर्ने भनेता पनि अहिलेसम्म काम शुरू नभएको पनि दुलालले जानकारी दिए ।

    यस्तै कम्पनीले निर्माण गर्न लागेको अपर खिम्ती दोस्रोबाट उत्पादन हुने विद्युत् खरीदका लागि प्राधिकरण र कम्पनीबीच गत चैतमा पीपीए भइसकेको बताइएको छ । सो आयोजना निर्माणका लागि उत्पादन अनुमति लिने तयारी भइरहेको दुलालले बताए । उनले भने, ‘हामीले आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिका लागि मन्त्रालयमा पठाएका छौं ।’ सो आयोजनाको निर्माण कार्य २०७४ भदौ महीनाभित्र पूरा गर्ने लक्ष्य रहेको छ । आयोजनाको कुल लागत करीब रू.१ अर्ब ५ करोड अनुमान गरिएको कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादित विद्युत् रामेछापको गज्याङस्थित सबस्टेशनमा जोडिने भएको छ ।

    कम्पनीले निर्माण गर्न लागेको खिम्ती–गज्याङ प्रसारण लाइनको लागत करीब रू.५० करोड अनुमान गरिएको छ । प्रसारण लाइन निर्माणका लागि सरकारबाट नीतिगत स्वीकृतिसमेत प्राप्त भइसकेको कम्पनीले बताएको छ ।

    निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण हुने सो आयोजना २०७३ को असारमा पूरा हुने दुलालले बताए । उनले भने, ‘यो प्रसारण लाइन नेपालमा निजीक्षेत्रबाट निर्माण हुने पहिलो प्रसारण लाइन हुनेछ ।’ यसबाट निजीक्षेत्रबाट प्रसारण लाइन निर्माणको ढोका खुल्ने उनले दाबी गरे । ६ महीनाअघि बसेको प्राधिकरणको बैठकले निजीक्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिने निर्णय गरेको थियो । प्राधिकरण सञ्चालक समितिका एक सदस्यका अनुसार निर्णयमा सरकारले राखेका निश्चित शर्तभित्र रहेर निजीक्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिने उल्लेख छ ।

    Source :  Abhiyan