Mewa Khola Hydro completing soon

    1745

    एक मेगावाटको मेवा खोला चैतमा पूरा हुने

    Mewa Kholaखोटाङ– बाढी, भूकम्प र नाकाबन्दीले पुर्याएको असर र क्षतीका कारण तोकिएको मितिमा पूरा हुन नसकेको खोटाङको मेवा खोला हाईड्रोपावरको काम चैतभित्र पूरा हुने भएको छ।

    हेड वर्कस, नहर र पावरहाउस लगायतका निर्माणका काम अन्तिम चरणमा पुगेकाले १ मेगावाट क्षमताको हाईड्रोपावरको काम चैतभित्रमा पूरा हुने ठेकेदार कम्पनी प्यासिफिक बिल्डर्स प्रालिका साईडइन्चार्ज कृष्ण पन्तले बताए । हालसम्म हाईड्रोपावरको करिब काम ९० प्रतिशत काम सकिएकाले चैतमा सबै काम सम्पन्न हुने आयोजनाले जनाएको छ । गत असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण महिनौँपछि धकेलिएको हो । बाढीको अशर बाहेक भूकम्पका कारण कामदारहरु काम छाडेर घर हिँडेपछि पनि हाईड्रोपावरको काम प्रभाबित भएको थियो । करिब ३० करोडको लागतमा सम्पन्न हुने जलविद्युत आयोजनाको कुलो तथा ड्याम निर्माण, पावर हाउस निर्माण, होम पाइप जडान, वाईरिङ लगायतका काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ललितकुमार राईले बताए ।

    दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गर्न लागिएको विद्युत केन्द्रीय प्रशारण लाइनको बुइपा सबस्टेशनमा जोड्न पोल गाड्ने काम पनि सुरु गरिएको आयोजनाले जनाएको छ । ‘अस्ती असोजमै बत्ती बाल्ने लक्ष्यकासाथ काम गरिरहेका थियौँ, बाढीका कारण सम्भव भएन,’ आयोजना प्रमुख राईले भने, ‘अव ढिलोमा पनि चैत्रमा बत्ती बाल्छौँ, सोही अनुशार काम गरिरहेका छौँ ।’ लोडसेडिङको मार खेपीरहेका जिल्लावासी चैतभित्रमा मेवा खोला जलविद्युत सञ्चालन हुने खबरले उत्साहित छन् । विद्युत आयोजना सञ्चालन भएपछि लोडसेडिङको मार खेप्न नपर्ने र उद्योग लगायत अन्य विकासे काममा समेत सघाउ पुग्नेमा स्थानीय आशाबादी छन् ।

    भारी वर्षापछि गत जेठ–२२ गते र असार–१९ गते आएको बाढीले साप्सु खोला र मेवा खोलाको दोभान नजिकै निर्माणाधिन हाईड्रोपावरको पावरहाउस, डण्डी, सिमेन्ट, गिटीबालुवा, ढुंगा, मिक्स्चर मेसिन, सर्भेका सामान, टोटल स्टेशन, लेभल मेसिन, कम्प्याक्ट, जेनेरेटर लगायतका सामग्री बगाउँदा निर्धारित समयमा हाईड्रोपावरको काम पूरा हुन नसकेको हो । महिना दिनको अवधिमा लगातार दुई पटक आएको बाढीले हाईड्रोपावरमा एक करोडको क्षती पु¥याएको आयोजना प्रमुख राईले जनाए । बाढी आउनुअघि हाईड्रोपावरको ८० प्रतिशत काम सम्पन्न भइसकेको थियो । यस्तै नाकाबन्दीमा आवश्यकीय सामान ल्याउन नसक्दा पनि हाईड्रोपावरको काम रोकिएको थियो ।

    जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाण्डौंको प्रबद्र्धनमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो । समुदायको ३० प्रतिशत तथा बैंकको ७० प्रतिशत लगानीमा मेवाखोला दोभानमा हाईड्रोपावरको काम सञ्चालन भइरहेको छ । कम्पनीका अनुशार हाईड्रोपावरको फोरवे तयार भइसकेको छ । यस्तै, क्यानलको ९० प्रतिशत र पाइपलाइनको ८० प्रतिशतभन्दा बढि काम सम्पन्न भइसकेको छ ।

    मेवा खोलाबाट निकालिने हाईड्रोपावरको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाबिस रहेको जिल्लाका ४० गाबिस लोडसेढिङमुक्त बन्ने साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रमुख अर्जन राईले बताए । २ हजार ७ सय मिटर लामो नहरबाट ल्याइएको पानीलाई जलाशयमा जम्मा गरेर दुई सय मिटर तल खसाएर विद्युत उत्पादन गर्ने तयारी गरिएको छ । नहरको १४ सय मिटर खण्डमा सिमेन्टेड र १३ सय मिटर खण्डमा फलामका हेडड्रेस पाइप राख्ने काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । हाईड्रोपावरबाट उत्पादन हुने बिद्युतलाई हाल सञ्चालनमा रहेको गाईघाट–दिक्तेल ३३ केभी केन्द्रीय प्रशारण लाईनको बुईपा सब–स्टेशनमा लगेर जडान गरिने छ । यसकालागि हाल खम्बा गाड्ने र तार टाँग्ने काम भइरहेको कम्पनीले जनाएको छ । जिल्लामा बिस्तार गरिएको केन्द्रीय प्रशारण लाइनको विद्युत ३८ गाविसका ११ हजार घरधुरीले उपभोग गरिरहेका छन् ।

    मेवा खोला हाईड्रोपावरको नहर, जलाशय, पावर हाउस लगायतका सिभिलका काम ठेकेदार कम्पनी पेसिफिक बिल्डर्सले गरिरहेको छ । यस्तै, फ्रेम, गेट लगायत फलाम सम्बन्धी हाइड्रोमेकानिकलका काम माशक्ती हाइड्रोपावरले, जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर, प्यानल लगायतका इलेक्ट्रोमेकानिकलका काम चिनिया कम्पनी चिन्सी हाइड्रोपावरले तथा पोल राख्ने, तार टाँग्ने र विद्युतगृह र सव–स्टेसनलाई जोड्ने ट्रान्समिसनका काम शाह इलेक्ट्रोनिक्सले गर्दैआएको छ ।

    खोटाङको १८ औं जिल्ला परिषदले जिल्लालाई लोडसेडिङ मुक्त बनाउने योजना पारित गरेपछि मेवा खोला लगायतका हाईड्रोपावरको काम द्रुत गतिमा भइरहेको छ । मेवा खोला बाहेक जिल्लामा साना–ठूला गरि डेढ दर्जन लघु जलविद्युत योजना सञ्चालनमा छन्।

    स्रोत : नागरिक