चिलिमेका एमडी हटाइए पीडीएफ मुद्रण इमेल

    2619

    काठमाडौं, ६ साउन

    kul man ghisingविद्युत् प्राधिकरणले चिलिमे हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङलाई हटाएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबारको बैठकले घिसिङलाई हटाएर सुनिलकुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    घिसिङ प्राधिकरणका १० तह (प्रबन्धक) र ढुंगेल ११ तह (निर्देशक) हुन् । चिलिमे विद्युत् प्राधिकरणको ५१ प्रतिशत सेयर रहेको कम्पनी हो । कम्पनी तथा प्राधिकरणका कर्मचारीको २५ प्रतिशत, आयोजनास्थल रसुवावासीको १० प्रतिशत र मुलुकभरका सर्वसाधारणको १४ प्रतिशत सेयर कम्पनीमा छ ।

    करिब ३ वर्षअघि एमडीमा नियुक्त घिसिङले निश्क्रिय अवस्थाको चिलिमेलाई गतिशील बनाएका थिए । उनले सेयरका विषयमा रसुवावासीसँगको विवाद समाधान गरी कम्पनीको सेयर निष्कासन, एकैसाथ चार आयोजना अगाडि बढाई वित्तीय व्यवस्थापनमार्फत निर्माणको चरणमा पुर्‍याएका थिए ।

    घिसिङले प्राविधिक, कार्यक्षमता, सुशासन र व्यावसायिक दृष्टिकोणले चिलिमेलाई उत्कृष्ट कम्पनीका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय प्रमाण चिन्ह र लेखा परीक्षणको अवार्ड दिलाउन सफल भएका थिए ।

    सान्जेन जलविद्युत्को ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)ले सम्झौता गर्न अस्वीकार गरेपछि सिजिजिसीले ‘बिड सेक्युरिटी’बापत राखेको ३ करोड २० लाख रुपैयाँ जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेका थिए । सोही कारण उनलाई हटाइएको प्राधिकरण स्रोतले बतायो । ‘घिसिङलाई हटाउन सिजिजिसीका कमिसन एजेन्ट लागेका थिए, यसमा ठूलो आर्थिक चलखेल भएको छ,’ स्रोतले भन्यो ।

    चिलिमेको नेतृत्वमा १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण चरणमा छन् ।

    चुनावी सरकारमा ऊर्जामन्त्री उमाकान्त झाको निर्देशनमा प्राधिकरणमा कर्मचारीको व्यापक सरुवा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक, प्रबन्धक, निर्देशकलगायतको सरुवा गरिएको छ । चुनावी आचारसंहिता लाग्ने भएकाले मन्त्री झाले आइतबारै कर्मचारी सरुवा गर्न निर्देशन दिएका हुन् ।

    निर्माण गरिरहेका आयोजना छिटो सक्न पहल गर्नुभन्दा मन्त्री झाले कर्मचारी सरुवालाई प्राथमिकता दिँदै आएको प्राधिकरणका अधिकारीले बताए । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीमा १० तहका सिभिल इन्जिनियर प्रदीप थिकेलाई पठाइएको छ ।

    प्राधिकरण अधिकारीका अनुसार थिकेले अहिलेसम्म कुनै पनि निर्माणाधीन जलविद्युत्् आयोजनामा काम गरेका छैनन् । ‘१५ दिनभित्र व्यवस्थापन समूहसहितको आयोजना प्रमुख नियुक्त गर्ने प्रतिबद्धता जनाएका मन्त्री झाले प्रमुख नियुक्त गर्न चासो देखाएका छैनन् । बरु आयोजनामा कामै नगरेका व्यक्तिलाई पठाउने काम भएको छ,’ प्राधिकरण स्रोतले भन्यो ।

    @ नयाँ पत्रिका