तल्लो अरुण आयोजना बनाउन लगानी बोर्डले माग्यो प्रस्ताव, निःशुल्क ऊर्जालाई प्राथमिकता

1555

काठमाडौं । लगानी बोर्डले ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना बनाउन प्रस्ताव आब्हान गरेको छ । लगानी बोर्डले यसअघि छनोट भएका ३ ओटा विदेशी कम्पनीसंग प्रस्ताव आब्हान गरेको हो ।

असोज ६ गते बसेको लगानी बोर्डको ४० औं बैठकले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना), भारतको सतलज जलविद्युत निगम लिमिटेड, ग्रीन रिर्सोसेज प्राइभेट लिमिटेड र इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जे पावर) लाई छनौट गरेको थियो ।

यी कम्पनीहरुबीचमा मात्रै प्रतिस्पर्धा हुने छ ।  अरुण तेस्रोको जस्तै निःशुल्क ऊर्जालाई प्राथमिकतामा राखेर प्रस्ताव आब्हान गरेको लगानी बोर्ड स्रोतले बतायो । अरुण तेस्रो आयोजनाले २१.९ प्रतिशत अर्थात १९८ मेगावाट निशुल्क बिजुली दिने प्रस्ताव गरेपछि पाएको थियो ।

९०० मेगावाटको अरुण तेस्रो आयोजना बनाइरहेको सतलजलाई तल्लो अरुण आयोजना बनाउन दिन भारतले अनुरोध गरिसकेको छ । भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले तल्लो अरुण आयोजना सतलजलाई बनाउन दिन अनुरोध समेत गरिसकेका छन ।

अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुख्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर बिजुली उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो ।

संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलिमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । आयोजना बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । हाल आयोजनाको अध्ययन भइरहेको छ ।

 

स्रोत : क्यापिटल नेपाल