हिमालय ऊर्जा विकासले चैतदेखि १९ मेगावाट बिजुली उत्पादन थाल्ने, यो वर्ष ३ करोड नाफा गर्ने

    1043

    काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालय ऊर्जा विकास कम्पनी लिमिटेले निर्माण गरिरहेको २ जलविद्युत आयोजनाबाट आउदो चैतदेखि १९ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्तीबाट बिजुली उत्पादन हुने जानकारी दिएको छ ।

    कम्पनीले साधारण सेयर (आईपीओ ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको आब्हान पत्रमा आउदो चैतभित्र बिजुली उत्पादन गर्ने प्रतिवद्धता नेपाल विद्युत प्राधिकरणसंग गरेको जानकारी दिएको छ । कम्पनीले आउदो बैंशाखदेखि बिजुली बिक्रीबाट आम्दानी गर्ने समेत जानकारी दिएको छ ।

    आयोजना बनाउन ३ अर्ब १४ करोड ७३ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५६ लाख रुपैयाँ रहेको छ । लागत सस्तो भएकाले वित्तीय रुपमा दुबै आयोजना आकर्षक रहेका छन् । आयोजनाबाट वार्षिक ११ करोड ५९ लाख रुपैयाँ बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनामा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत कर्जा लगानी छ ।

    चैतबाट बिजुली उत्पादन हुने भएपछि चालु आर्थिक वर्षमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गर्ने प्रकाशित आब्हान पत्रमा उल्लेख गरिएको छ । आगामी वर्ष नाफा बढेर १६ करोड र आर्थिक वर्ष ०७७/०७८ मा १८ करोड ७० लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट १४ करोड, आगामी वर्ष ५७ करोड ५२ लाख र ३ वर्षपछि ५९ करोड २१ लाख आम्दानी हुने कम्पनीले दाबी गरेको छ । ।

    आम्दानी बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा वृद्धि भई १८ रुपैयाँ ८९ पैसा पृुग्ने छ ।कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक २० र ढिलोमा मंसिर ५ गतेसम्म तोकिएको छ । न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ ।जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन हुन लागेको हो ।

    -विकासन्युज