तल्लो मोदीका कर्मचारी कुटिए, निर्माणकार्य ठप्प

    2543

    पर्वत, १० फागुन – तल्लो मोदीखोला जलविद्युत् आयोजनाका कर्मचारीलाई स्थानीय युवाले कुटपिट गरेपछि आयोजनाको निर्माणकार्य ठप्प बनेको छ । मनाङ ट्रेड लिंक प्रालिले निर्माण गरिरहेको आयोजनाको चुवा गाविस – ४, परादीस्थित कार्यालयमा बुधबार राति गएर स्थानीय युवाले कर्मचारीलाई कुटपिट गरेका हुन् । राति नौ बजेको समयमा चुवा गाविसका नेपाली कांगे्रसको युवा संगठन तरुण दलका अध्यक्ष धीरबहादुर केसी र अर्जुन केसीले कुटपिट गरेको कर्मचारीले बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
    आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेलगायतका सात कर्मचारीमाथि एक्कासि कार्यालयमा पसेर कुटपिट गरेको र दोहोरो संवादसमेत नभएको अधिकृत बेल्वासेले बताए । “हामीले असुरक्षाका कारण काम गर्न सकेनौं,” उनले भने, “सुरक्षा नभएसम्म सदरमुकाममै बस्छौ ।” दोषीमाथि कारबाही र सुरक्षाको प्रत्याभूति नभएसम्म आयोजनाको सुरुङ निर्माण कार्यसमेत अघि नबढ्ने बेल्वासेले बताए । पीडित कर्मचारीमध्ये बेल्वासेको टाउकोमा चोट लागेकाले पर्वत जिल्ला अस्पतालले थप उपचारका लागि पोखरा रिफर गरेकोे छ ।
    कर्मचारीहरुरूले आयोजना बन्द गराएर सुरक्षाको माग गर्दै सदरमुकाम कुस्मा आएका छन् । कर्मचारीले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । कुटपिटमा संलग्न युवाले भने विज्ञप्ति प्रकाशित गर्दै रातिको समयमा पीडित स्थानीयवासीका तर्फबाट माग राख्न जाँदा उल्टै बेइज्जत गरेको दाबी गरेका छन् । यस सम्बन्धमा जनसम्पर्क अधिकृत बेल्वासेले भने, “स्थानीयवासीका माग सुन्ने काम कार्यालय समयमा मात्रै हुने र सरोकार समितिमार्फत माग लिइ र सुनुवाइ हुने व्यवस्था छ, तर उनीहरूको कुनै माग पनि छैन र मागका बारेमा कुनै कुराकानी समेत भएको छैन ।”
    आयोजनाका कर्मचारीहरू मोहन बोहोरा, अनिल पुडासैनी, बेलबहादुर रानाभाट, रेशमराज गैरे, निरञ्जन रूपाखेती, अर्जुन गिरी र दीपक लामामाथि कुटपीट भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । “सुरक्षा गार्डलाई कुटपिट गरेर कोठाभित्र छिरेर आक्रमण गरियो,” बेलवासेले भने, “उनीहरूलाई हदैसम्मको कारबाहीको र पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म काम सुरु गर्दैनौं ।”
    पर्वतको चुवा गाविसमा निर्माणाधीन २० मेघावाट क्षमताको आयोजनामा ६३ जना कामदार काम रोकेर सुरक्षाको माग गरेपछि आयोजनाको काम प्रभावित बनेको छ । पर्वतको चुवा, तिलाहार, दुर्लुङ, बाजुङ तथा देउपुर गाविसमा निर्माण गर्न लागिएको यस आयोजनाको निर्माणकार्य वि.सं. २०७२ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

    प्रस्तुति: कारोबार