फावाखोलाको विद्युत् परीक्षण

    1279

    श्रावण ९, २०७४- याङवरक गाउँपालिकाको फावाखोला नदीबाट उत्पादित ५ मेगावाट विद्युतको परीक्षण सुरु गरिएको छ। निर्माण सुरु भएको १४ वर्षमा सिवानी हाइड्रो पावरले आयोजना सम्पन्न गरी उत्पादन भएको विद्युत् यसै साता केन्द्रीय प्रसारण लाइनमा जोडिने जनाइएको छ।

    नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार साउन १४ सम्ममा केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका अध्यक्ष सुधीर प्रधानांगले बताए। ‘यसै साता नेपाल विद्युत् प्राधिकरणको टोली आउँछ र अमरपुर स्टेसनमा जोड्ने तयारीमा छौं,’ प्रधानांगले भने, ‘आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।’ प्राधिकरणको टिमले अनुगमन गरेपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताए।

    यो जिल्लामा उत्पादित हालसम्मको ठूलो आयोजना हो। हालसम्म १ सय ५० किलोवाटसम्मका साना जलविद्युत् आयोजना मात्रै सञ्चालन तथा उत्पादन हुँदै आएका छन्। ठूलो यो आयोजना दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो। आयोजनाले २०६२ सालदेखि काम सुरु गरेको थियो। क्यानलको लम्बाइ डेढ किलोमिटर बढेको, हेडवर्कमा ठुल्ठूला ढुंगा निस्किएको र एक सिजनको बाढीले निर्माण भएको संरचना बगाएका कारण उत्पादनमा केही ढिलाइ भएको प्रधानांगले बताए।

    निर्माण ढिलो हुँदा लागत पनि वृद्धि भएको छ। आयोजना ८५ करोडमा निर्माण सम्पन्न गर्ने प्रारम्भिक योजना भए पनि १ अर्ब १८ करोड रुपैयाँ खर्च भएको उनले बताए। आयोजनामा सेल्वेज ग्रुप, बैंक, ताप्लेजुङका छजना व्यापारी लगानीकर्ता छन्।

    कान्तिपुर