जलविद्युत् कम्पनी प्रोफाइल : रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड

    2642

    जलविद्युत् परियोजनाको विकास तथा सञ्चालनको उद्देश्य लिई सन् २००० मा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी स्थापना भएको हो । यो कम्पनी अरुणभ्याली हाइड्रोपावर कम्पनीअन्तर्गत विकास गरिएको छ ।

    कम्पनीले गुल्मीको साबिकको रुरु गाविसमा २ दशमलव ४ मेगावाटको रिडीखोला साना जलविद्युत् आयोजना निर्माण गरी २०६६ कात्तिकदेखि सञ्चालनमा ल्याएको छ । ‘जनसहभागितामा जलविद्युत्’ भन्ने नाराका साथ अघि बढाइएको रिडी हाइड्रोमा कम्तीमा १० हजारसम्मको संस्थापक शेयर लगानी पनि रहेको छ ।

    परिणामतः यस कम्पनीका ३ सय जना संस्थापक शेयरधनीमध्ये ५० प्रतिशत सङ्ख्या परियोजना क्षेत्रका नागरिक नै छन् । कम्पनीले नदी प्रवाही (रन अफ रिभर) प्रकृतिको उक्त आयोजना २४ महीनाको अवधिमै निर्माण सम्पन्न गरेको हो ।

    यस परियोजनाका लागि बैङ्क अफ काठमाण्डूको नेतृत्वमा माछापुच्छ्रे बैङ्क र नेपाल एसबीआई बैङ्क समेतबाट वित्तीय व्यवस्थापन भएको हो । यो परियोजना विद्युत् उत्पादनका साथै सिँचाइसमेतको संयुक्त परियोजना हो । यसको विकास गर्दा सुक्खा मौसमलाई ध्यानमा राखी आयोजनाको बाँधभन्दा माथिपट्टि ५ घण्टासम्म पानी सङ्कलन गर्न सकिने व्यवस्था मिलाइएको छ । यसरी सङ्कलित पानी हावा चल्ने समयमा बारम्बार ग्रीड कनेक्सनमा आउने गडबडीका बेला पनि निरन्तर रूपमा सम्झौताबराबरको विद्युत् उत्पादन गर्नमा सहयोगी हुने गरेको छ । रिडी, पानीको दबाबमा आउने उतार–चढावलाई व्यवस्थापन गर्ने सर्ज ट्याङ्क निर्माण गर्ने पहिलो साना जलविद्युत् आयोजना हो ।

    कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने इवाखोलामा रैराङ हाइड्रोपावर कम्पनीमार्फत ९ दशमलव ९ मेगावाटको इवाखोला साना जलविद्युत् परियोजना अघि बढाइरहेको छ । उक्त परियोजना २०७४ को अन्त्यसम्ममा निर्माण सम्पन्न हुने कम्पनीका परियोजना निर्देशक कुबेरमणि नेपालले बताए ।

    आयोजनाबाट उत्पादन भएको विद्युत् काबेली कोरिडरमार्फत १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा आबद्ध हुनेछ । आयोजना निर्माणबाट पूर्व १ नं. प्रदेशमा विद्युत् आपूर्ति सहज हुनेछ ।

    त्यसैगरी, रिडीले नै राष्ट्रिय ग्रीडमा आबद्ध हुने गरी बुटवलमा ८ दशमलव ५ मेगावाटको सोलार प्लाण्ट राख्न अनुमति प्राप्त गरिसकेको छ । काम अघि बढिरहेको उक्त प्लाण्टको निर्माण पनि यसै वर्षको अन्त्यसम्ममा सकिने कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् बुटवलको जोगीकुटी सबस्टेशनमा समाहित हुनेछ ।

    कम्पनीले भविष्यमा पनि थप जलविद्युत् परियोजनाहरू विकास गर्ने लक्ष्य लिएको छ । यसका लागि कम्पनीसँग आफ्नै विस्तृत सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन, निर्माण तथा सुपरिवेक्षण साथै वातावरणीय अध्ययन गर्ने विशेषज्ञहरूको व्यवस्था रहेको छ ।

    कम्पनीको वित्तीय तथा शेयर कारोबारको अवस्था
    रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आव २०७३/७४ को तेस्रो त्रैमासको वित्तीय अवस्थालाई हेर्दा चुक्ता पूँजी रू. ४७ करोड २२ लाख ३० हजार पुगेको छ । अघिल्लो आवको सोही समयको तुलनामा कम्पनीको चुक्ता पूँजीमा ४३ प्रतिशतले वृद्धि भएको हो । आव २०७३/७४ को तेस्रो त्रैमासमा कम्पनीले रू. ५४ लाख ४२ हजार नाफा कमाएको छ । नाफामा भने अघिल्लो आवको सोही समयको तुलनामा करीब १८ प्रतिशतले कमी आएको हो । आव २०७२/७३ को तेस्रो त्रैमासमा रू. १ करोड ३१ लाख ४८ हजार आम्दानी गरेको कम्पनीको आव २०७३/७४ मा रू. १ करोड ६ लाख २२ हजार आम्दानी गरेको छ । यसरी कम्पनीको आम्दानी घटेकाले पनि नाफामा कमी आएको देखिन्छ ।

    कम्पनीले तेस्रो त्रैमासमा विद्युत् विक्रीबाट रू. १ करोड ५ लाख ९० हजार र अन्य शीर्षकबाट रू. ३१ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष विद्युत् विक्रीबाट रू. १ करोड ३० लाख ८५ हजार र अन्य शीर्षकमा रू. ६२ लाख रकम आम्दानी गरेको थियो । जगेडा कोष पनि यो त्रैमासमा घटेको छ । आव २०७२/७३ को तेस्रो त्रैमासमा रू. ६ करोड ७१ लाख ९५ हजार रहेको जगेडा कोष रकम आव २०७३/७४ को तेस्रो त्रैमासमा ४२ प्रतिशतले घटेर रू. ३ करोड ८६ लाख ८८ हजारमा सीमित हुन पुगेको छ ।

    कम्पनीको लगानी रकममा भने यो पटक उल्लेख्य वृद्धि देखिएको छ । आव २०७२/७३ को तेस्रो त्रैमासमा रू. ३ करोड १६ लाख ९५ हजार लगानी रहेकोमा आव २०७३/७४ को तेस्रो त्रैमासमा ३ सय ४२ प्रतिशतले रकम बढाउँदै रू. १४ करोड १ लाख ९५ हजार पुर्‍याएको छ । आव २०७३/७४ को तेस्रो त्रैमासमा कम्पनीले प्रशासनमा रू. ९ लाख ५९ हजार, रोयल्टी चार्जमा रू. २ लाख ७१ हजार र प्रोजक्टमा रू. ७ लाख ९५ हजार रकम खर्चिएको छ ।

    आव २०७३/७४ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको चालू सम्पत्तिमा ५ प्रतिशतले वृद्धि भई रू. ६ करोड ६० लाख ७० हजार र चालू दायित्व करीब २२ प्रतिशतले वृद्धि भई रू. ६ करोड २२ लाख ४५ हजार पुुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १ दशमलव १५ र तरलता अनुपात १ दशमलव १ प्रतिशत रहेको छ ।

    कम्पनीको शेयर कारोबारको अवस्थालाई हेर्दा आइतवार भएको कारोबारमा ३ हजार ७ सय ४८ कित्ता शेयर खरीद र १ हजार ७ सय ५ कित्ता शेयर विक्री गर्ने माग भएको थियो । यस आधारमा आइतवारको व्यापारमा विक्रीको तुलनामा खरीद चाप बढी देखिन्छ । यसरी कम्पनीको आइतवारको कारोबारमा ४५ पटकको व्यापारमा रू. ५ लाख ११ हजार ४ सय ९ मूल्यबराबरको २ हजार ५ सय २४ कित्ता शेयर खरीदविक्री गरेको छ । उक्त दिन रू. २ सय १० मूल्यमा शुरू भएको कम्पनीको शेयर मूल्य न्यूनतम रू. २ सय र अधिकतम रू. २ सय १० सम्म तय भई रू. २ सय १ मा गएर कारोबार बन्द भएको थियो । यसरी आइतवारका लागि कम्पनीको प्रतिशेयर मूल्य रू. २ सय १ कायम भएको छ । कम्पनीको ५२ हप्ताको उच्च व्यापार मूल्य रू. ५ सय ८ र न्यून व्यापार मूल्य रू. १ सय ७५ रहेको छ ।

    Durga Lamichhane and Prajita Budhathoki

     स्रोत:कारोबार