कालीगण्डकी ‘ए’ उत्पादनमा समस्या

    1442

    स्याङजा, फाल्गुन ९ –
    चर्काे लोडसेडिङ बेहोरिरहेकै बेला नेपालकै ठूलो जलविद्युत् आयोजना काली गण्डकी ‘ए’ को उत्पादन गृहमा समस्या देखिएको छ । यसले गर्दा मर्मतका लागि उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको छ ।

    विद्युत् गृहमा रहेको इन्लेट भल्व -सुरुङबाट टर्वाइनमा पानी लैजाले पाइप) मा समस्या आएपछि विद्युत् गृह बन्द गर्नुपर्ने भएको हो । इन्लेट भल्प लिकेज भएका कारण विद्युत्का लागि उत्पादन गृहमा पठाइने पानी बाहिर जाने गरेको छ । ‘पानीको बहाव कम भएकाले अहिले थोरै पानी मात्र हुनाले त्यति समस्या भएको छैन्,’ काली गण्डकीका एक कर्मचारीले भने ‘पानीको बहाव बढेको बेला सबै पानी उत्पादनमा पठाउन सकिँदैन ।’

    समयमै मर्मत नगरेकाले समस्या जटिल बन्दै गएको हो ।  अहिले विद्युत् गृह बन्द गरेर मर्मत गर्ने तयारी भइरहेको छ ।

    भल्व मर्मतका लागि एक सातादेखि १० दिनसम्म लाग्छ । विद्युत् गृह मर्मतका लागि तीन/घन्टा बन्द भइरहने गरे पनि यति लामो समयसम्म बन्द हुन लागेको पहिलोपटक हो । ‘भल्व फेर्नुपर्ने भएकाले पूरै विद्युत् गृह बन्द गर्नुपर्ने भएको हो,’ केन्द्र प्रमुख अवधेशकुमार झाले भने, ‘केही दिनमै मर्मतको काम सुरु हुने छ  ।’ जति सक्दो छिटो काम सुरु गर्ने योजना रहेको झाले बताए ।

    मर्मतका लागि काली गण्डकीको पानी  सुरुङमा जान दिन नहुने भएकाले आयोजना निर्माणपूर्वकै अवस्थामै ल्याउनुपर्ने झाले बताए ।  काली गण्डकी ‘ए’ बन्द हुने भएपछि लोडसेडिङ थप बढ्ने सम्भावना छ । विगत केही वर्षदेखि मर्मतमा लापरबाही गरेको कारण गृहमा समस्या बढी देखिन थालेको छ ।

    Source : eKantipur