स्थानीयद्वारा जलविद्युत् सेयर माग

    1227

    कार्तिक २३, २०७३- सिल्दुजुरे र नामार्जुनमा निर्माणाधीन २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत् आयोजनाको सेयर स्थानीयले माग गरेका छन् । निर्माण सुरु हुने बेला भएको सहमतिअनुसार स्थानीयले कास्की जिल्लालाई लोडसेडिङमुक्त बनाउन र सेयर दिन भनेका हुन् ।

    मादी नदी जलाधार प्रभावित क्षेत्र समन्वय तथा सरोकार समिति र उच्चस्तरीय दबाब समितिले सोमबार कास्कीका राजनीतिक दलका नेतृत्वसमक्ष छलफल गरेका छन् । ‘तत्काल आयोजनासँग वार्ता गरी सेयर निष्कासन गर्न अनुरोध गरिनेछ’, छलफलमा सहभागी स्थानीय लालबहादुर गुरुङले भने, ‘ऊर्जा मन्त्रालय, विद्युत् विभाग र प्राधिकरणमा डेलिगेसन गएर लोडसेडिङमुक्त बनाउन माग गर्ने पनि निर्णय भएको छ ।’ २५ मेगावाट क्षमताको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    आयोजना निर्देशक विजयबाबु मल्लले प्रक्रियागत रूपमा आएमा चिनियाँले सेयर दिन सक्ने तर अहिल्यै दिइहाल्ने अवस्था नरहेको बताए । ‘सेयर भन्नसाथ पाउने विषय होइन,’ उनले भने । मादी पावर प्रालिअन्तर्गतको आयोजनामा मल्लको २० प्रतिशत र चीनको चाइना थ्री गर्जेज कर्पोरेसनसँग आबद्ध चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ ।
    आयोजना २०६९ पुस १३ बाट चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण सुरु गरेको हो ।

    कान्तिपुर