रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु

    1489

    रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । रेल्वे विभागमा बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार शुक्रबारबाट प्रारमिभक सम्भाब्यता अध्ययन सुरु भएको हो ।

    यसका लागि भारतीय रेल्वेका कन्सल्टेन्टहरु नेपाल आएका छन् । पहिलो चरणमा चोभारमा उनीहरुले रेल्वे स्टेशन रहने स्थान हेरेका छन् । अब यो टोली वीरगञ्ज पुगेर सम्भाब्यता अध्ययन अघि बढाउने उपाध्यायले बताए ।

    सबै खर्च भारतीय पक्षले बेहोर्ने भएपछि रेलमार्ग अध्ययनका लागि विभागले अन्तिम चरणमा पुर्‍याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरिएको छ ।
    यो रेलमार्ग करिब १ सय १३ किलोमिटर लामो हुने अनुमान छ । केरुङ हुँदै काठमाडौं आउने रेलमार्गसाग जोड्ने गरी यो रेलमार्ग बनाउन लागिएको हो । यो रेलमार्ग बनाउँदा करिब २० प्रतिशतसुरुङ र पुलमा निर्माण गर्नुपर्छ ।

    रक्सौलबाट वीरगञ्ज, निजगढ र बागमती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने उपाध्याय बताउँछन् । प्रराम्भिक सम्भाब्यता अध्ययनको रिपोर्ट अबको ३ महिनापछि मात्रै आउनेछ । यसको डीपीआर निर्माणका लागि भने करिब थप १५ महिना खर्चिनुपर्छ ।

    करिब २ वषपछि मात्रै वीरगञ्जदेखि काठमाडौसम्म रेलमार्ग निर्माणका लागि खोस्रने कामसम्म सुरु गर्न सकिने अनुमान छ । रक्सौलदेखि वीरगञ्जसम्म खण्डमा भने यसअघि नै रेलमार्ग बनिसकेको छ । तर, यो रेलमार्ग यात्रु ओसारपसारका लागि नभई कोलकाता हुँदै रक्सौल आएको मालसामान वीरगञ्जको ड्राइपोर्टसम्म ल्याउनका लागि प्रयोग भएको छ ।

    यही रेलमार्गलाई नै अपग्रेड गरेर यात्रु ओसार पसारका लागि प्रयोग गर्ने विभागको योजना छ । र, त्यही रेलमार्ग नै काठमाडौंसम्म जोड्नका लागि विभागले सम्भाव्यता अध्ययन अघि बढाउन लागेको हो । यसरी हेर्दा, रक्सौलबाट काठमाडौंसम्म आउने रेलमार्गका लागि केही कागजी काम अघि बढेको र केही भौतिक प्रगतिसमेत भएको देखिन्छ ।

    नेपाल-भारत दुई देशका प्रधानमन्त्रीका वीचमा एक वर्षभित्रै यसको सर्वे गरिसक्ने सहमति भएको छ । साथै यसको निर्माणका लागि डीपीआर र फन्डिङ मोडालिटी तयार गर्ने पनि सहमति भएको छ ।

    यदि द्रुत गतीका साथ काम अघि बढाउने हो भने दुई देखि अढाई वर्षमा वीरगञ्जदेखि काठमाडौसम्म रेलमार्ग निर्माणका लागि खोस्रने कामसम्म सुरु सकिने अनुमान गरिएको इन्जिनियर उपाध्यायले बताए ।

    -अनलाइनखबर