सिंगटी हाइड्रोको प्रगति ७० प्रतिशत

    1839

    दोलखा-निर्माणाधीन सिंगटी खोला जलविद्युत् आयोजनाको प्रगति ७० प्रतिशत भएको छ । आयोजनाले ढिलोमा एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाको हेडबक्सको प्रायःजसो काम पूरा भएको छ ।
    आयोजनाको हेडबक्समा ९५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका इन्जिनियर रमेश सुवेदीका अनुसार हेडबक्सको फिनिसिङको कामबाहेक सबै संरचना तयार भएका छन् । हेडबक्समा बाँध, इन्टेक, पानी थिग्रयाउने पोखरी, हेडपोनलगायतका संरचना छन् ।
    बाँध, इन्टेक र पानी थिग्रयाउने पोखरीको काम असारसम्म पूरा गर्ने लक्ष्यअनुसार नै काम भइरहेको उनले जानकारी दिए । अघिल्लो वर्ष हेडबक्सको निर्माणाधीन संरचनामा बाढी पसेर क्षति भएको थियो । तर यी सबै संरचना एक वर्षको प्रगति भएको उनले बताए ।
    कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । सिंगटी खोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रहेको कम्पनी आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए ।
    आयोजनाको ६ किलोमिटर सुरुङमध्ये हालसम्म २ तिहाइभन्दा बढी सकिएको छ । हेडरेस सुरुङमध्ये हालसम्म १ हजार ८ सय मिटरमात्र बनाउँन बाँकी छ । त्यस्तै बीचमा ३ सय मिटर अडिट सुरुङ बनाएर त्यसको पावर हाउसतर्फ र हेडबक्सतर्फ पनि सुरुङ निर्माण भइरहेको छ । अन्तिम निकास पावर हाउसतर्फ (आउटलेट)बाट समेत सुरुङ निर्माणाधीन भएको आयोजनाको सहायक प्रमुखसमेत रहेका इन्जिनियर रमेश सुवेदीको भनाइ छ ।
    “निकासतर्फबाट ४३७ मिटर कमजोर चट्टान भएकाले केही ढिला भएको थियो,” उनले भने, “अहिले चट्टान राम्रो फेला परेको छ, त्यसतर्फबाट पनि काम द्रुत गतिमा भइरहेको छ ।” यही गतिमा सुरुङ निर्माण भए अबको २ महिनामा हेडबक्सतिरको हेडरेस सुरुङ ब्रेक थ्रु हुुने उनले बताए ।
    अबको ६ महिनामा सुरुङ ब्रेक थ्रु गर्ने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाबाट २०७५ चैतमा विद्युत् उत्पादन गर्ने लक्ष्य भए तापनि अन्तिम निकासतर्फको सुरुङ निर्माणमा भएको ढिलाइ, गत वर्षको बाढीले पु¥याएको क्षतिलगायतका कारण ४ महिना जति ढिला हुन सक्ने जानकारी दिए । आयोजनाको भौतिक निर्माण सुरु भएको डेढ वर्ष भयो । निजी क्षेत्रबाट निर्माण भएका आयोजनामध्ये छोटो समयमै राम्रो प्रगति भएको आयोजना भएको उनले दाबी गरे ।
    आयोजनाको प्रभावित क्षेत्र साविकको बाबरेसहित लामिडाँडा, खोपाचागू, लादुक र चिलंखा साविकका गाविस पर्दछन् । बाबरे र चिलंखा गाविस बीचमा सोरुङ खोलामा इन्टेक र डिस्याण्डर बनाएर आयोजनाको ६ किलोमिटर सुरुङ निर्माण गरी लामिडाँडा ७ को जुरेपानीमा सर्जट्यांक निर्माण हुनेछ । त्यसपछि ९५० मिटर पेनस्टकमार्फत लामिडाँकै शिरिसघारीमा पावरहाउसमा पानी खसाली विद्युत् उत्पादन हुनेछ ।
    शिरिसघारीको कात्तिकेका पावर हाउस निर्माणको कामसमेत भइरहेको छ । असारसम्म पावर हाउसको सिभिलको काम ८० प्रतिशत पूरा गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सापकोटाले बताए । आयोजनाको ग्रस हेड २६८ मिटर छ । विद्युत्गृहमा १२.५ मेगावाटका २ वटा युनिट राख्ने योजना छ । वर्षा लागेकाले बाहिरी सतहको कामको गति भने घटेको छ ।
    आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, हाइड्रोमेकानिकलको काम क्रिम हाइड्रो प्रालि र इलेक्ट्रो मेकानिकलको काम चिनियाँ कम्पनी क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडले गर्ने आयोजनाले जनाएको छ । सिंगटीमा निर्माणाधीन सबस्टेसननजिकै भएका कारण आयोजनाले प्रसारणलाइन २ सय मिटर पनि निर्माण गर्नु पर्दैन ।
    सिंगटी खोला प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा ‘सुपर ६’ आयोजनाअन्तर्गत पर्छ । सुपर ६ का आयोजनामध्ये सबैभन्दा राम्रो प्रगति भएको आयोजना सिंगटी खोला नै हो छ ।

     

    -कारोबार