सार्वजनिक संस्थानको नाफा ३५ अर्ब, सबैभन्दा बढी नाफामा आयल निगम, घाटामा विद्युत् प्राधिकरण

    1688

    काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको नाफा सामान्य वृद्धि भएको छ । सञ्चालनमा रहेका ३५ मध्ये २३ वटा संस्थानको आर्थिक वर्ष ०७२–०७३ मा खुद नाफा १.६ प्रतिशत बढेर ३४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०७१–०७२ मा यी संस्थानको नाफा ३४ अर्ब ४० करोड रुपैयाँ थियो । समीक्षा वर्षमा १२ संस्थान नोक्सानमा गएका छन् । सार्वजनिक संस्थानको खुद नाफाको अवस्था सुधारोन्मुख देखिएको छ ।

    गत आवमा सबैभन्दा बढी खुद नाफा गर्नेमा नेपाल आयल निगम लिमिटेड रहेको छ । नेपाल आयल निगमले १९ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै नेपाल टेलिकमले १३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो । नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल नागरिक उडड्यन प्राधिकरण धेरै नाफा गर्ने संस्थान भएका छन् । यी संस्थानको नाफा १ अर्ब बढी छ ।

    नेपाल विद्युत प्राधिकरण सबैभन्दा बढी नोक्सानमा गएको छ । गत आवमा मात्र प्राधिकरणको खुद नोक्सान ८ अर्ब ९० करोड रुपैयाँ छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेसनल ट्रेडिङ लिमिटेड, नेपाल औषधी लिमिटेड र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नोक्सानमा गएको अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक वित्तीय समीक्षाले देखाएको छ । गत वर्ष नाफामा रहेको नेपाल खाद्य संस्थान गत वर्ष नोक्सानमा गएको छ ।

    नाफा गर्ने संस्थानमा दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बिउविजन कम्पनी लिमिटेड, दी टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल आयल निगम, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उडड्यन प्राधिकरण छन् ।
    नाफामा गएका अन्य संस्थानमा गोरखापत्र संस्थान, नेपाल  टेलिकम, कृषि विकास बैंक, राष्ट्रिय विमा कम्पनी लिमिटेड, एनआईडीसी डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नागरिक लगानी कोष, जलविद्युत् लगानी तथा उत्पादन कम्पनी लिमिटेड र नेपाल बैक छन् ।

    नोक्सानमा गएका सार्वजनिक संस्थानमा जडिवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, हेटौडा सिमेन्ट उद्योग, नेपाल औषधी लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल ओरियन्ट म्याग्नेसाइट, नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, साँस्कृतिक संस्थान, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी लिमिटेड, नेपाल खानेपानी संस्थान, विद्युत प्राधिकरण, राष्ट्रिय विमा संस्थान रहेका छन् ।

    यस्तै सार्वजनिक संस्थानको खुद आय पनि झण्डै १३ प्रतिशत ह्रास आएको छ । गत आवमा विभिन्न सार्वजनिक संस्थानले २ खर्ब ४० अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेका थिए । अघिल्लो वर्ष यी संस्थानको खुद आम्दानी २ खर्ब ७६ अर्ब १६ करोड रुपैयाँ थियो । नेपाल आयल निगम, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीको हिस्सा बढी छ । यी संस्थानको कुल सञ्चालन आयमा ७० प्रतिशत योगदान रहेको अर्थ मन्त्रालयले जनाएको छ । भूकम्प र सीमा नाकाबन्दीले गर्दा सार्वजनिक संस्थानको कुल आम्दानीमा कमी आएको अर्थले जनाएको छ ।

    जसअनुसार आद्यौगिक क्षेत्रतर्फका ७ संस्थानको कुल आम्दानी ६ अर्ब ४३ करोड, व्यापारिकतर्फका ६ संस्थानको १ खर्ब ७ अर्ब १८ करोड, सेवा तर्फका ७ संस्थानको १४ अर्ब ५५ करोड, सामाजिकतर्फ ५ संस्थानको १ अर्ब ६२ करोड, जनउपयोगी तर्फ ३ संस्थानको ७३ अर्ब ५ करोड वित्तीयतर्फ ११ संस्थानको ३७ अर्ब ६३ करोड रुपैयाँ छ ।

    चालु आर्थिक वर्षमा सरकारी स्वामित्वमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेड सञ्चालनमा आएका छन् । योसमेत गरी सञ्चालनमा रहेका सार्वजनिक संस्थानको संख्या ३७ पुगेको छ ।

    स्रोत: बाह्रखरी