सात वर्षभित्रै माथिल्लो सेतीबाट बिजुली

    2310

     तनहुँ, माघ २५- प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाले आगमी ७ वर्षभित्रै माथिल्लो सेती जलविद्युत परियोजनाबाट विजुली उत्पादन गरिने बताएका छन्। माथिल्लो सेती जलविद्युत आयोजना निर्माण स्थलको बिहीबार अवलोकन गर्दै सचिव बास्कोटाले आयोजना निर्माणस्थल उपयुक्त रहेकाले चाडै आयोजना निर्माण हुने बताए।

    ‘दुई पहाडको बिचमा भएकाले बाँध निर्माणको लागत र समय समेत काम लाग्छ,’ उनले भने, ‘पहिलो चरणको काम शुरु भईसकेकाले सोचे भन्दा अघि नै आयोजनाबाट विजुली निस्किन्छ।’ अर्थमन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्दा समेत आफूले माथिल्लो सेती परियोजनाका लागि पहल गरेको भन्दै उनले आयोजना निर्माणका लागि बजेटको कुनै पनि समस्या नहुने बताए।
    ‘माथिल्लो सेती जलविद्युत आयोजनाका लागि एशियाली विकास बैंक, जाइका लगायतका संस्थाले सहयोग गरेका छन्।’ उनले भने, ‘४२ अर्व रुपैया जुटिसकेकाले आयोजना निर्माणले गती लिन्छ।’ नेपालमा दैनिक ७ सय मेगावाट विद्युत खपत हुने गरेपछि सुख्खायाममा ३ सय ५० मेघावाटमात्र विद्युत उत्पादन हुने गरेकाले नेपाली जनताले लोडसेडिङको मार खेप्नु परेको भन्दै उनले १० वर्षपछि नेपालमा उत्पादित जलविद्युत विदेश निर्यात गर्न सकिने बताए।
    ‘दश वर्षभित्र माथिल्लो तामाकोशी, चमेलिया, बुढी गण्डकी, मस्याड्दी, माथिल्लो सेती आयोजना सम्पन्न हुन्छन्,’ उनले भने, ‘७ वर्ष भित्रै नेपालबाट लोडसेडिङ हट्छ, १० वर्षपछि नेपालबाट विजुली बेच्न सकिन्छ।’ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि पहिलो चरणअर्न्तगतको काम सुरु गरिएको तनहुँ हाइडो पावर लिमिटेडका प्रबन्ध सञ्चालक महेश आचार्यले बताए।
    ‘पहिलो चरणमा मुअब्जा वितरणसँगै आयोजना सञ्चालनका काम भइरहेका छन्,’ आचार्यले भने, ‘२०१९ भित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार काम भईरहेको छ।’ १४० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको माथिल्लो सेती जलविद्युत परियोजना निर्माणका लागि १ सय ४० फिट उचाईको कंक्रिट ड्याम निर्माण गरिने र डाडाँभित्र करिब १५ सय मिटर लामो टनेलबाट पानी छिराई विजुली उत्पादन गरिने उनले बताए। उनले भने, ‘विजुली उत्पादन पश्चात पानीलाई पुनः सेती नदीमा छाडिनेछ।’ जलविद्युत आयोजना निर्माणका लागि करिब ४५ करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको उनले बताए।

    प्रस्तुति:नागरिक